

रावलले कार्यदलमा गरेको सहमति अमान्य हुनुको कारणः कहाँ दुख्यो माधव नेपालको चित्त?

काठमाडौं– पछिल्लो पटक एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालको ‘मेरियट वार्ता’पछि सक्रिय बनाइएको थियो, सहमतिका लागि गठित कार्यदल।
ओलीका पक्षबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेपालका तर्फबाट उनका विश्वासपात्र उपाध्यक्ष भिम रावल संयोजक थिए। कार्यदलले तयार पारेको सहमतिको प्रस्तावलाई अनुमोदन गरिने तयारी भएको थियो।
आइतबार राती उक्त सहमतिको खाका सतहमा आयो। तर, साथ साथ आयो नेता नेपालको असन्तुष्टि र असहमति। आफूले तयार पारेको कार्यदलले निचोड दिएको सहमतिमा कहाँ दुख्यो नेता नेपालको चित्त?
यो प्रश्नको उत्तर खोजनुअघि कार्यदलले तयार पारेका मुख्य ५ बुँदामाथि टिप्पणी गरौं।
१.प्रतिनिधि सभा विघटनसम्बन्धी विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा विधिसम्मत सहमति गर्ने
२.माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा बादलसहितका नेताले नेकपा हुँदा पाएको बराबरको जिम्मेवारी पाउने
३.माओवादी केन्द्रसँग एकीकरण हुँदा एमालेबाट केन्द्रीय कमिटीमा थपिएका सदस्यहरुलाई मान्यता दिने
४.केन्द्रीय कमिटी र स्थायी कमिटीमा थपिएका नेताहरुको जिम्मेवारी मिलान गर्न विधान महाधिवेशन गर्ने
५.एमालेले पुनर्जन्म पाएपछि अहिलेसम्म एकअर्काले गरेका कारबाहीसहितका निर्णय बदर गर्ने
नेता नेपाललाई समेत मान्य हुनेगरी गरिएको सहमतिमा उल्लेख नभएको तर त्यसको व्याख्या फरक हिसाबले गरिएको भन्ने असहमति छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रहेका सूर्य थापाले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दिएको हस्ताक्षर फिर्ता लिने भन्ने विषयमा उनको आपत्ति रहेको छ।
यति मात्र होइन, नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमाले सहमति भएको’ अवस्थामा माओवादीबाट छिरेकालाई कुनै स्थान नदिनका लागि भनेका थिए। जुन कार्यदलको प्रस्ताव भने मान्यता दिने भन्ने परेको छ।
त्यसैका लागि पनि प्रचण्ड विभिन्न बहानामा कोटेश्वर पुगी नेता नेपाललाई खुसामत गरिरहेको उच्च स्रोतले जनाएको छ। ‘एमाले विभाजनबाट जोगिँदा माओवादी पनि सग्लै हुनेगरी अडान राख्न प्रचण्डले बारम्बार भनेका थिए’, स्रोतले भन्यो।
पहिलो त बैठक डाकेर हस्ताक्षरका विषयमा निर्णय गर्ने भन्ने विषयको व्याख्या नै सूर्य थापाले गलत गरिदिएको भन्ने नेपाललाई परेको छ। उक्त प्रचारबाजी ओली पक्षको रणनीतिअनुसार भएको भन्ने उनको ठहर छ।
अर्कोचाहिँ ओलीले राखेका सबै बैठकलाई बैधानिकता दिने भन्ने विषयमा नेता नेपालको असहमति रहेको बताइन्छ। तर सहमतिका लागि एक पक्षका माग मात्र पूरा नहुने भएकाले मध्यमार्गी निर्णय लिनुपर्ने रावलको सुझावअनुसार नै विवरण तयार भएको थियो। जसमा नेता नेपालले चित्त दुखाएका हुन्।
अब हुने एमाले बैठकलाई २ जेठ ०७५ को अवस्थामा नभई निरन्तरतामा रहेको भन्ने बुझाई नेपालको छ। इो १४ औं बैठक भनी निम्तो पुगेका कारण पनि नेता नेपालले चित्त दुखाएका हुन्।

