२८ वर्षपछि अर्जेन्टिनाले जित्यो कोपा अमेरिका फुटबलको उपाधि


काठमाडौं – साविक विजेता ब्राजिललाई हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका २०२१ फुटबलको उपाधी जितेको छ। आइतबार बिहान ब्राजिलको रियो दी जेनेरियास्थित माराकाना रंगशालामा भएको फाइनल खेलमा ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधिमाथि कब्जा जमाएको हो।

खेलको २२ औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। रोड्रीगो डे पलले दिएको लामो पासमा ब्राजिलका रेनान लोडीले राम्रो क्लिअरेन्स गर्न नसक्दा डी मारियाले बलमा नियन्त्रण गर्दै गोलरक्षकको माथिबाट चिप गर्दै गोल गरेका थिए। डी मारियाको गोल नै उपाधिको लागि निर्णायक बन्यो।

ब्राजिलले खेलको दोस्रो हाफमा आक्रामक परिवर्तन गर्दै सुधारिएको प्रदर्शन गरेपनि खेलमा फर्कन सकेन। अर्जेन्टिनाको गोलरक्षक एमिलिआनो मार्टिनेजले केहि सुन्दर बचाउ गर्दै अर्जेन्टिनाको अग्रता जोगाएका थिए। निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समयमा ब्राजिलले केहि आक्रमण बुनेपनि गोल गर्न सकेको थिएन।

टोलीमा कप्तानी लियोनल मेसीसँगै लोउटारो मार्टिनेज, एन्जल डि मारिया, सर्जियो अगुएरो, लियान्द्रो ड्यानियल पारेडेस, रोड्रिगो डि पल, गुइडो रोड्रिग्वेज, एलेजान्द्रो गोमेज, जियोभानी लो सेल्सो, निकोलस ओटामेन्डी, निकोलस टाग्लियफिको, मार्कोस एकुना, क्रिस्टियन रोमेरो र सेमिफाइनलमा कोलम्वियाविरुद्ध नायक बनेका गोलरक्षक इमिलियानो मार्टिनेज थिए।

योसँगै अर्जेन्टिना १५ औं पटक कोपाको च्याम्पियन बनेको छ। उरुग्वेको सर्वाधिक कीर्तिमानलाई बराबरी गरेको छ। अर्जेन्टिनाले यसअघि अन्तिमपटक कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि सन् १९९३ मा जितेको थियो।

त्यसयता कोपा अमेरिकाको ट्रफी अर्जेन्टिनाले चुम्न नसके पनि यो २८ वर्षमा चारपटक उपविजेता भने बनेको थियो। लगातार दुईपटक फाइनलमा स्थान बनाउँदा अर्जेन्टिना चिलीसँग हारेको थियो।

अर्जेन्टिनाले सेमिफाइनलमा टाइब्रेकरमा जित निकालेको थियो। कोलम्बियालाई ३–२ ले टाइब्रेकरमा अर्जेन्टिनाले हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेको थियो। त्यस्तै क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरमाथि ३–० को सहज जित निकाल्यो।

प्रतिक्रिया