

सडक मर्मतपछि पूर्व-पश्चिचम राजमार्गमा यातायात पूर्णरूपमा सञ्चालन

नवलपुर – बाढीका कारण कावासोतीमा सडक भासिएर अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा तीन दिनअघि सडक भासिएपछि डाइभर्सन गरेर साना सवारी साधनलाई मात्रै आवतजावत गराइँदै आएकामा सडक मर्मत गरेर पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो ।
कावासोतीमा भासिएको सडक मर्मत गरी पूर्वपश्चिम राजमार्ग दुईतर्फी नै सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले डिभिजन सडक कार्यालय तथा नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको सक्रियतामा भासिएको स्थानमा मर्मतपछि राजमार्ग पूर्णरूपमा सञ्चालनमा ल्याइएको जानकारी दिए।
बिहीबार आएको बाढीले कावासोतीमा ह्युमपाइप बगाएर सडक भासिएपछि निर्माण गरिएको डाइभर्सनबाट साना सवारी साधन एकतर्फीमात्रै सञ्चालनमा ल्याइएको थियो ।
बिहीबार बिहान ८ बजेट अवरुद्ध भएको सडक डाइभर्सनपछि शुक्रबार साँझदेखि एकतर्फी सञ्चालन हुँदै आएको थियो । मर्मतपछि सडक पूर्णरूपमा दुईतर्फी नै सञ्चालनमा आएको भन्दै गिरीले सडकमा लामबद्ध ठूला सवारी साधनको लाइनसमेत घटेको बताए ।

