

कोरोनाबाट उद्योगी तथा समाजसेवी अग्रवालको मृत्यु

झापा – कोरोना भाइरस संक्रमणबाट झापा भद्रपुरका पुराना उद्योगी तथा समाजसेवी परशुराम अग्रवालको मृत्यु भएको छ । कोरोना संक्रमित अग्रवालको उपचारको क्रममा भारतको सिलिगुडीस्थित महाराजा नर्सिङ होममा गए राति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत जेठ ३१ गते मेची अस्पताल भद्रपुरमा अग्रवालको पीसीआर परीक्षण गरिएको थियो ।
परीक्षणबाट उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । केही दिन होम आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि असार ४ गते भारतको सिलिगुडी लगिएको थियो । पछिल्लो समय उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गइरहेको थियो ।
बुधवार दिउँसो स्वास्थ्य अवस्था फेरि जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा राखेको केही घण्टामै उनको मृत्यु भएको जानकारी चिकित्सकले आफन्तलाई गराएका थिए । उनी झापा उद्योग वाणिज्य संघमा दुई कार्यकाल अध्यक्ष भएका थिए । ६२ बर्षीय अग्रवाल व्यवसायसँगै समाजसेवामा समेत उत्तिकै अग्रसर थिए ।
मोहपाल धर्मशाला समाजसेवा ट्रस्ट, भद्रपुर मारवाडी संघ, भद्रपुर गौशाला, विभिन्न मठमन्दिर आदि बनाउन उनले ठूलो सहयोग गरेका थिए। उनको जिल्लामा मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेशनल स्कुल, गुट्खा उद्योग, घडी बिडी उद्योग, होटेल, सिनेमा हल लगानी रहेको छ । पारिवारिक स्रोतका अनुसार अग्रवालको आजै दिउँसो स्थानीय मेची नदीमा अन्त्येष्टि गरिने भएको छ।

