

अपमान सहेका केही प्रसङ्गहरूसहित प्रतिवेदनमा प्रचण्डले उठाएका ‘निम्छरा’ प्रश्नहरू

काठमाडौं– गएको शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक भनिएको प्रतिवेदन विवादीत बन्नुको कारण अराजनीतिक प्रसङ्ग मानिएको छ।
राजनीतिक प्रतिवेदनमा पार्टी र कार्यदिशाका विषयमा भन्दा बढी आफ्ना भावना र वहलाई प्रचण्डले पोखेको पाइएको छ। यसका केही उदाहरणमा उनले आफूलाई निरन्तर अपमान गरेको भनी उल्लेख गरेका थिए।
प्रचण्डले निम्छरा विषयबस्तु उठाउँदै सचिवालयको बैठकमा असमान हिसाबले कुर्सी राखेकोसम्म लेखेका छन्। यतिमात्र होइन, आफैंले आलोपालो प्रधानमन्त्री बन्ने सम्झौतालाई खारेज गरी पूरा समय ओलीलाई दिएका उनले त्यहि गल्ती भनेका छन्।
एकीकरणताका ठूलो व्याख्या गरेका प्रचण्डले ओलीलाई नवउदारवादी, शोसकका प्रतिनिधका रुपमा व्याख्या गरेका छन्। जुन नेकपाको राजनीतिक प्रणालीमा कुनै प्रश्न नै नरहेको कतिपयको बुझाई छ।
राजनीति सम्बन्धी जानकारहरूका अनुसार पार्टीको बैठकमा देशको कार्यदिशा र पार्टीको कार्यनीतिलाई सत्ताधारी दल र तिनका प्रतिनिधिले राख्नुपर्ने हो। तर प्रचण्डले आफ्ना तुस र भागवन्डामा नभएको हिस्साको विषयसँगै ओलीमाथि प्रहार गर्नेगरी बैठकमा एकल प्रस्ताव राखेका थिए।
‘पत्र आदान प्रदानसम्म ठिक थियो। त्यो व्यक्तिगत रुपमा आरोप प्रत्यारोपलगायतका विषय अराजनीतिक पाटो थियो। त्यो पत्र नै थियो त्यसमा टिप्पणी गर्न मिल्दैन’, एक अधिकारी भन्छन्,‘राजनीतिक निचोडका लागि राखिएको बैठकमा त्यहिअनुसारको प्रस्ताव आउनुपर्छ, आरोप आउनु हुँदैन।’
ओली पक्षका नेता कार्यकर्ताले प्रचण्डको आलोचना गर्नुको खास कारण नै अराजनीतिक विषयबस्तु भएको धेरैको बुझाई छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल, मुख्यमन्त्रीहरू शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङलगायतले त्यसलाई फिर्ता लिन आग्रह गर्दै आरोपपत्र भन्नुको अर्थ पनि त्यहि रहेको बताइन्छ।

