

साँझसम्म हस्ताक्षर फिर्ता नलिए माधव नेपाल समूहमाथि एमालेको असाधारण ‘कारबाही’

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दिएको हस्ताक्षर फिर्ताका लागि एमालेले माधवकुमार नेपाल समूहलाई दिएको समयसीमा आज साँझ सकिँदैछ।
आइतबार दिनभर जसो एमालेको विवाद मिलाउनका लागि विभिन्न प्रयास भए पनि नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न चाहेनन्। नेपालले उक्त हस्ताक्षर फिर्ता नहुने पनि दाबी गरेका छन्।
सर्वोच्च अदालतको फैसला आउनुअघि हस्ताक्षर फिर्ता नलिए केन्द्रीय कमिटीको अर्को बैठक राखी नेपाल समूहमाथि असाधारण कारबाही हुने अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बताइसकेका छन्।
तर त्यो असाधारण कारबाही कस्तो भन्ने खुलाइसकिएको छैन। कतिपयले भने एमाले साधारण सदस्य समेत नहरेगरी नेपाललगायत हस्ताक्षरकर्तामाथि कारबाही हुने अनुमान गरिएको छ।
नेपालसहित २३ जना विघटित प्रतिनिधि सभा सदस्यले देउवा प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेका थिए।

