नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख नाघ्यो


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १७ जनाले कोरोनाविरुद्ध जित हात पारेका छन् । यससँगै हालसम्म देशभर कारोनाबाट निको हुनेको संख्या ६ लाख १ सय ४९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९ सय ८५ जनाको परिक्षणमा २ हजार ७६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार १७ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ ।

नेपालमा हालसम्म ३५ लाख ४३ हजार ९ सय २९ जनाको कोरोना परिक्षण गरिएको छ । ती मध्ये ३३ लाख ५१ हजार २ सय ६३ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको छ भने बाँकी १ लाख ९२ हजार ६६६ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

पीसीआर विधिबाट गरिएको परिक्षणमा ६ लाख ४० हजार ६ सय ६२ जनाको पोजेटिभ रिपोर्ट आएको छ भने एन्टीजेन विधिबाट गरिएको परिक्षणमा ३५ हजार ८ सय ४७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ६ लाख ७६ हजार ५ सय ९ जना पुगेको छ ।

त्यस्तै नेपालमा हालसम्म २६ लाख ४ हजार ८ सय ६६ ले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने ७ लाख ५६ हजार ६ सय २ जनाले दोस्रो मात्रा पनि लगाइसकेका छन् ।

नेपालमा कोरोनाबाट निको भएको दर ९३.७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया