


कोइरालाको छायाँमा हुर्किएका पौडेल कांग्रेस मूल नेतृत्वमा उदाउन नसक्नु र नपाउनुका कारण
शेखर कोइरालाको प्रस्ताव स्वीकारे प्रधानमन्त्री बन्ने अवसरको ढोका खुल्ने सम्भावना

काठमाडौं– प्रधानमन्त्री पदका लागि नेपालको इतिहासमा नै लामो दौड कायम गरी विख्यात बन्ने नेता हुन् रामचन्द्र पौडेल।
नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेल पहिलो संविधानसभाको व्यवस्थापिका संसदको सरकार बनाउने प्रक्रियामा १८ पटक प्रधानमन्त्री पदका लागि प्रस्ताव र समर्थन लिएर दौडिए। तर, बहुमत पाउन नसक्दा उनी प्रधानमन्त्री बन्न पाएनन्। तत्कालिन ठूलो दल माओवादीले एमाले नेता झलनाथ खनाललाई प्रधानमन्त्रीमा समर्थन गरिदियो, पौडेलको दौड अन्त्य भयो।
१३ औं महाधिवेशनमा उनी नेपाली कांग्रेसको सभापतिका लागि मैदानमा उत्रिए। कोइराला परिवारको विरासतका रुपमा आफू उभिएको बताएका उनी शेरबहादुर देउवासँग पछारिए। बरु उनको खेमाबाट कोइरालाको प्रतिनिधित्व गर्दै उठेका शशांकले महामन्त्री पदमा अधिक मत ल्याए। सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा शेखर कोइराला बिजयी भए, पौडेल खेमाबाटै।
एक पटक सभामुख र पटक–पटक मन्त्री बनेका उनी कार्यबाहक प्रधानमन्त्री बनेका थिए, गिरिजाप्रसाद कोइरालाको पालामा। कोइरालाको लिगेसीमा नै उनी कांग्रेसभित्र उदाउने प्रयत्नमा थिए तर गिरिजाप्रसादको लामो नेतृत्वले उनलाई उपसभापति त बनायो, उठ्ने मौका दिएन। ‘ठूलो रुखमुनी उम्रिएको बोट जस्तो हुनुभयो, कोइराला विरासतको छहारी मिल्यो, नेतृत्वमा उक्लिने मौका मिलेन’, कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्,‘गएको महाधिवेशनमा मौका पाए पनि उहाँले त्यसलाई उपयोग गर्न सक्नुभएन।’
गिरिजाप्रसादपछि कोइराला परिवारको लिगेसीलाई सुशील कोइरालाले हाँके। १२ औं महाधिवेशनमा सुशीलले शेरबहादुर देउवालाई सभापतिमा पराजित गरे। तर, त्यहि लिगेसीबाट आएका पौडेलले किन पराजित गर्न सकेनन्? भन्ने आम चासो र प्रश्न बन्यो। उक्त प्रश्न अहिले पनि विद्यमान छ।
केही दिनअघि गिरिजापुत्री सुजाता कोइरालाले निवासमा बोलाएर पौडेललाई ‘खुट्टा टेक्न नसक्ने भए मलाई सहयोग गर्नुस्’ भनेर पठाइन्। पैडेलले १४ औं महाधिवेशनमा सभापति पदका लागि महत्वकांक्षा राखेका छन् तर विविध प्रकारका समीकरण र दाबीकाबीच उनले घोषणा गर्न सकेका छैनन्। पौडेलले भनेका छन्,‘छलफल हुँदैछ हतार गरेको छैन।’
कांग्रेसमा अर्को पुस्ताको सक्रियताले पौडेललाई केन्द्रीय सदस्यहरुको भेला आयोजना गर्दा पनि ‘बाइकट’ गरिएको छ। उनी १३ औं महाधिवेशनमा सभापति उठेका कारण उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले शुक्रबार आयोजना गर्न लागेको केन्द्रीय सदस्य भेलामा सभापति देउवा र अर्का नेता कृष्णप्रसाद सिटौलासँगै बाइकटमा परेका छन्।
यसले उनी आगामी नेतृत्वमा उदाउन सक्ने वा सभापतिका मान्य उम्मेदवार हुनेमा विश्वस्त हुने आधार अति कमजोर बनिसकेको छ। ‘अब अर्को पुस्ता सक्रिय हुने संकेत मिलिसकेका कारण पौडेललाई कुन क्याम्पले बोक्ला र? सभापतिमा देउवा आफैं उठ्ने भनेका छन्। पौडेल पक्षका अन्य नेता नयाँ उम्मेदवारीको पक्षमा छन्।’
लामो समयसम्म कोइरालाको छत्रछायाँमा आफूलाई कांग्रेसको उपल्लो तहमा ‘ग्रुम’ गरे पनि संगठन र पार्टी हाँक्ने विन्दुमा उभ्याउन पौडेल आफैं असफल भएको कांग्रेसजनको ठहर छ। र, १४ औं महाधिवेशनमा त अर्को पुस्तामा नेतृत्व जानुपर्छ भन्ने आवाज बुलन्द भएपछि उनी नेपथ्यमा छन्।
‘गएको आम चुनावमा सांसद पनि जित्न सक्नुभएन। जिल्लामा नै आधार कमजोर भयो। तनहुँको पार्टी संगठनमा पनि उहाँ बलियो देखिनुहुन्न। मूल पार्टीमा स्थान ओगटेर बस्न दिने अन्य छैनन् अब’, स्रोतले भन्यो।
कांग्रेसमा अर्को पुस्ता भनेको पनि लगभग उमेरले ७० को छेउछाउ पुगेकाहरु तम्सिएका छन्। उनीहरूले पौडेललाई स्वीकार्दा नेतृत्व लिने बेला ७५ पुगिसकेका हुनाले पनि बाटैमा छाडेर अघि बढ्ने निधो लिइसकेका छन्।
कोइराला परिवारबाट शेखर सभापतिमा उठ्ने अभ्यासमा छन्। उनी सोही तयारीअनुसार बीचका समय पार्टीका विभिन्न जिल्लादेखि केन्द्रसम्म सक्रिय भए। उनले पौडेललाई सभापति आफूलाई दिएर प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि बढ्न यसै साता प्रस्ताव गरेका थिए। तर, पौडेलले त्यसमा रुची देखाएनन्। ‘सभापति बन्ने अवसर त छैन। प्रधानमन्त्री बन्नका लागि तयार भए कोइराला परिवारबाट शेखरले उहाँलाई च्याप्नुहुन्छ’, स्रोतले भन्यो,‘अन्यथा नयाँ पुस्तासँग जोडिएर शेखर अगाडि बढ्नुहुन्छ।’
यस्तो प्रस्तावका क्रममा युवा पुस्ताका नेता गगन थापा पनि सरिक थिए। पौडेलले यो प्रस्तावलाई अस्वीकार गरेको खण्डमा शेखर युवा पुस्ताको नयाँ टिम बनाएर महाधिवेशनमा होमिने तयारीमा छन्। तर पौडेलले हालै मात्र पनि आफू राष्ट्रपति समेत नहुने एउटा अन्तरवार्ताका क्रममा खुलाएका थिए। के उनी सभापति हुन्छन्? भन्ने प्रश्नमा अलमलमा छन्। स्रोतले भन्यो,‘अब अर्को पुस्ता अघि बढिसक्यो, उहाँ सभापति हुने मौका सायदै होला। पार्टीले मौका दिएको थियो, मौकालाई जीतमा बदल्न नसक्नुले उहाँलाई समर्थन गर्ने कम छन्।
तर पौडेल आफैं भने १३ औं महाधिवेशनको घाइते भएका कारण कोइराला क्याम्पमात्र नभई देउवाइतरको समूहले सहयोग गर्नुपर्ने दाबी गर्छन्। के त्यस्तो दाबीको कुनै अर्थ हुनेछ? एक केन्द्रीय सदस्य भन्छन्,‘केही दिनमा थाहा हुनेछ। सम्भावना न्यून देखिन्छ।’

