दैनिक तीन सय जना सडक मजदुरको भोक मेटाउने प्रदिप


काठमाडौं– लक डाउन र कोरोना महामारीमा सडकमा रहेका मजदुरको मजबुरीलाई देख्न सकेनन् प्रदिप घिमिरेले। बत्तीसपुतलीको गल्लीमा रहेको सानो आफ्नो कोठालाई ति मजदुरको भोक मेटाउने भान्सा बनाए। अनि सुरु गरे दैनिक कम्तिमा तीन सय जनाका लागि खाना पकाउने सेवा।

२९ चैतदेखि प्रत्येक दिन उनी तीन सय जना सडक मजदुरलाई निशुल्क खाना खुवाउँदै आएका छन्। महामारीमा राहत वितरणका क्रममा उनले मजदुरका मजबुरीलाई सुनेका थिए। उनीहरु अन्य चिज होइन, खाना मागिरहेका थिए। अनि सुरु गरे उनले भोकको परिधिलाई बढ्न नदिने अभियान।

‘सडकमा रहेका मजदुरले अन्य सामान वा राहतका अलग चिज होइन, खाना मागे। निरन्तर यो आवाज सुनेपछि भोकालाई भोजन नै उपयुक्त सेवा हुने ठानें र अभियान सुरु गरेको हुँ’, उनी भन्छन्।

सेवा सहज छैन। आफैं खाना पकाएर खुवाउने भने पनि साधारण डेरा बसेको घरका खाली ठाउँ रोजेका थिए, पाएनन्। अनि आफैं बसेको कोठालाई उनले भान्सा बनाए।

प्रदिपलाई उनकी पत्नीले साथ दिन्छिन्। सहयोगी कोही पनि राखेका थिएनन्। आजभोली भने उनको सेवाभाव देखेर कसैले सघाउन खोजिरहेका छन्। अब कोठाबाट सटरटिर भान्सा सार्ने सुरसारमा छन्।

खाना खुवाउनकै लागि उनी किन तम्सिए त?

‘भोकको पीडा मैले यहि सडकमा भोगेको छु। सबैभन्दा ठूलो पीडा यहि हुन्छ। मैले महसुस गरेको पीडा अरुले पनि गर्नुपर्छ भन्ने बाध्यता छ र?’, उनी भन्छन्।

बिरामी आमा लिएर काठमाडौंमा भोकै हिँड्दाका उनका पीडा कम छैनन्। सम्झिँदा स्तब्ध हुन्छन्। ‘२०५८ सालमा आमाको मुटुमा प्वाल भयो। कहिल्यै नफर्किने गरी आमा बिदा हुनुभयो’, उनी केही मलिन मुद्रामा भन्छन्,‘परिवारको विचल्ली भयो, बुवाले अर्को बिहे पनि गर्नुभयो।’

०५८ पछि परिवार नै अप्ठेरोमा परेपछि उनी माओवादी आन्दोलनमा जोडिए। उनी भन्छन्,‘मेरा पीडाले मलाई माओवादीमा जोडिन बाध्य बनायो, विद्यार्थी आन्दोलनमा जोडिएँ, केन्द्रसम्म नै पुगें।’

तर अहिले उनी माओवादीसँग आवद्ध छैनन्। उनी माओवादी र राजनीतिसँग विरक्तिनुका विविध परिदृश्य छन्, नेपथ्यमा। हिजो जुन जनतासँग उनीहरुले साथ र भोट मागे, आज ति सहारा र भोकको उपचार मागिरहेका बेला कालो सीसा भएको गाडीमा हुत्तिन्छन्। देख्दैनन् जनता। उनी भन्छन्,‘त्यो के राजनीति? त्यसैले म यो सेवामा निरन्तर अघि बढें।’

मैतीदेवी, बत्तीसपुतली, गौशाला र पशुपतिवरपर सडकमा रहेका भोका मजदुर प्रदीपको पर्खाइमा हुन्छन्। दिउँसो ४ बजेबाट उनी पकाउने काममा सक्रिय हुन्छन्। ८ बजेपछि स्कुटरमा खाना लिएर मजदुरलाई बाँड्छन्।

यो महामारीका बेला उनले केही दर्दनाक दृश्य देखेका थिए। जसलाई सहयोग पनि गरे। सोमबहादुर लामा सडकमै बिरामी परे। टेकु अस्पतालमा पीसीआर गर्दा पोजिटिभ देखियो। उनीसँग अस्पताल जाने खर्च थिएन प्रदिपले दिए। उनी भन्छन्,‘१४ दिन मनमोहन अस्पतालको आइसोलेसनमा राखेर घर पठाइयो।’

‘सोमबहादुरलाई घर त पठाएँ तर घरबाट कोरोना भनेर छिःछिः र दूरदूर गरेपछि उनी काठमाडौंमा नै फर्किए’ उनी भन्छन्,‘पहल गरेर अहिले एक कार्यालयमा काममा लगाएको छु।’

प्रदिपले सुनाएको यो एउटा प्रतिनिधि घटना मात्र हो। यस्ता कयन कथा छन् सडकका भोकासँग।

के सँधैभरी यसरी खाना खुवाएर बस्छन् त प्रदिप?

उनी यसलाई दिर्घकालिन सेवाका रुपमा लिँदैनन्। सडक मजदुरको व्यवस्थापनमा सरकारले सहयोग गरेको खण्डमा यो काम प्रदिपले गर्नु पर्दैन। ‘खाना खुवाउन सँधैभरी सकिएला नसकिएला तर भोकलाई मेट्न सकुन्जेल खट्ने हो। राज्यले व्यवस्थापनको जिम्मा लिएर गरेको खण्डमा राम्रो हुनेथियो’, उनी सुनाउँछन्।

अलपत्र परेका सडक मजदुरलाई सक्नेलाई रोजगारी, नसक्नेलाई घर पठाउने व्यवस्थापनमा सहयोगी बन्न उनको अपिल पनि छ।

प्रदिपका लागि यत्रो खाना खुवाउने स्रोत अथवा सहयोग कहाँबाट आउँछ? उनी भन्छन्,‘सहयोगी मनहरु हुनुहुन्छ। उहाँहरुका सहयोगका आधारमा नै हामी पतिपत्नीले मिलेर खाना बनाएर खुवाउने काम गरिरहेका छौं’, उनी भन्छन्,‘अहिले कम्तिमा पनि सय जनालाई खुवाइरहेका छौं।’

प्रदिपले उपलव्ध भएको सहयोगका आधारमा नै पीडितको भोक मेटाउने काम गरिरहेका छन्। उनलाई सहयोग गर्नका लागि ९८४११४१४६८ मा सम्पर्क गर्न सकिन्छ। उनी भन्छन्,‘मिलेर सहयोग गरे एउटा मात्रै मानिसलाई भोकले मर्नबाट जोगाउन सक्नु पनि पुण्यको कर्म होइन र?’

प्रतिक्रिया