

उत्यकाका आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको मतपरिमाण सार्वजनिक

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिणाम सार्वजनिक भएको छ । नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् ।
कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएको अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले बताए ।
थापाथली इन्जिनियरिङ र महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन्। थापाथलीमा प्रल्हाद खड्का र महाराजगञ्जमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित भएको नेविसंघका प्रवक्ता सुरज सेजुवालले बताए ।
अनेरास्ववियु क्रान्तिकारीले जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा विजय हासिल गरेको छ । क्रान्तिकारीका महासचिव रोशन मगरका अनुसार जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्र ठगुन्ना अध्यक्ष भएका छन् ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा देशभर ३८ आंगिक र २५० सम्बन्धनप्राप्त क्याम्पसमा मतदान भएको थियो ।

