
माधव नेपालले प्रयोग गरिरहेको एमालेको ‘अवैधानिक पद’
काठमाडौं– बिहीबार आफूलाई सहयोग गर्ने सम्पादकहरूको एउटा भेलामा एमालेबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही गरेका माधवकुमार नेपालले भने– म एमालेको बरिष्ठ नेता हुँ।
उनले प्रतिपक्षी गठबन्धनमा जोडिनुको कारण संविधान र प्रतिनिधि सभा जोगाउनु रहेको पनि बताए। ओलीले माफी मागेको खण्डमा स्वीकार गर्ने पनि बताए।
नेपाल एमालेमा लामो समय महासचिव पदमा रहेका नेता हुन्। तर, उनले विपक्षी गठबन्धनमा जोडिएर होस् वा सार्वजनिक फोरममा भन्ने गरेका छन्– बरिष्ठ नेता।
के नेता नेपालले प्रयोग गरिरहेको ‘बरिष्ठ नेता’ पद एमालेको विधानले स्वीकार गर्छ? ‘अरुले मान्नु एउटा कुरा हो तर यो पद प्रयोग गर्ने आधिकारिकता एमालेको विधानले उहाँलाई दिँदैन’, एक स्थायी कमिटी सदस्य भन्छन्,‘पार्टीमा पाका भएका कारणले यत्तिकै मानिदिनु या प्रतिक्रिया नजनाउनुले उहाँ त्यसरी आधिकारिक हुँ भनेर दाबी गर्न मिल्दैन।’
कतिपय समाचार संस्थाले उनलाई बरिष्ठ नेता नै भनेर सम्बोधन गर्दै आएका छन्। तर, एमालेभित्र बरिष्ठ नेताको पद र मर्यादाको विधानमा नै उल्लेख हुने गरेको छ।
एमालेमा एक पटक बरिष्ठ भएको मानिस फेरि पनि सोही पदमा हुन्छ भन्ने विधानमा कहिँ पनि उल्लेख छैन। पार्टीका निवर्तमान प्रमुखलाई मात्र बरिष्ठ नेता मान्नुपर्ने एमालेको विधानले स्पष्ट भनेको छ।
यस हिसाबले एमालेको बरिष्ठ नेता झलनाथ खनाल हुन्। उनी आठौं महाधिवेशनका अध्यक्ष थिए र नवौं महाधिवेशनमा ओलीले उक्त पदमा नेपाललाई पराजित गरेका थिए।
‘कतिपय नेतालाई बरिष्ठ बन्नुपर्ने आत्मरती हुन्छ। त्यसैले पार्टीमा यस्ता विषयलाई खासै चासो दिइएको हुँदैन। तर, वैधानिकताको हिसाबले नेता नेपालले त्यसरी भन्न र लेख्न पाउँदैनन्’, ति स्थायी कमिटी सदस्य भन्छन्।
त्यसो त नेता नेपाललाई एमालेको साधारण सदस्य समेत नरहेनगरी निस्काशन गरिसकेको हुनाले पार्टीको नाम लेख्ने अधिकार पनि नरहेको ओली पक्षको दाबी छ। एक नेता भन्छन्,‘विपक्षी गठबन्धनमा लागेर पार्टीको हुर्मत लिनेको के पद के सदस्यता?’



कागजपत्र |
