

देउवाविरुद्ध कांग्रेस सभापतिमा उठ्ने यस्तो छ निधि रणनीति

काठमाडौं– नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेको उपसभापति विमलेन्द्र निधि पछि नहट्ने पक्का भएको छ। आफूलाई महाधिवेशनमा सभापति शेरबहादुर देउवाको सहयोग रहने विश्वास लिएका उनले कुनै पनि हालतमा नछाड्ने बताइसकेका छन्।
उनले सहमतिका आधारमा महाधिवेशनबाट अर्को पुस्तालाई नेतृत्व दिनुपर्ने बताइसकेका छन्। अर्को पुस्ताका लागि आकांक्षीलाई सहमति र सर्वसम्मतीमा सभापतिको मानक बनाए त्यसलाई स्वीकार्ने तर निर्वाचन प्रक्रियामा गए कुनै पनि हालतमा नछाड्ने निधिले घोषणा गरेका छन्।
तर सभापतिका लागि शेखर कोइराला पनि सक्रिय रहेका कारण निर्वाचन अनिवार्य हुनेछ। त्यसअघि सभापतिमा दोहोरिने मनसायमा देउवाले विभिन्न तहमा छलफल थालिसकेका छन्। देउवा समूहका एउटा बलियो मियाँेका रुपमा रहेका निधिलाई देउवाले सभापतिको पद छाडेर सहयोग गर्लान् त? ‘मलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ। तर उहाँले सभापति लड्छु, तपाईँ पनि लड्ने अधिकार हो भन्नुभएको छ’, निधिले सार्वजनिक गरेका छन्,‘त्यसो हो भने म पनि आँटिलो हिसाबले मैदानमा हुनेछु।’
देउवाले सभापतिमा फेरि जीत निकाल्नका लागि विभिन्न आयामका समीकरण बनाउने तयारी थालेका छन्। तर निधि पनि कुनै एक समूहको प्रयत्नले मात्र कांग्रेसमा सभापति जीत निकाल्न सहज नभएको ठान्छन्। उनले पनि कोइरालालगायत अन्य समूहसँगको समन्वयमा नै निर्वाचनमा अगाडि बढ्ने रणनीति तय गरेका छन्।
‘लामो समय देउवालाई सहयोग गर्नुभएका उपसभापतिलाई यसपटक सभापति बनाउनका लागि सहमति दिनुपर्ने हो तर देउवाजी आफैं उठ्ने भएपछि निधिजी ब्याक हुने कुरा छैन’, निधिनिकट स्रोतले भन्यो,‘यो सहमति त १३ औं महाधिवेशनमा नै भइसकेको थियो। फेरि किन उहाँलाई ब्याक गर्न खोजिएको होला? अब निधिजी ब्याक हुनुहुने छैन।’
निधिसँगको स्पर्धाका लागि देउवाले मधेसमा बिजयकुमार गच्छादारलगायतलाई अगाडि सार्ने भएका छन्। राप्रपाबाट आएका सहमहामन्त्री सुनिलकुमार थापालगायतलाई पनि देउवाले अगाडि सारिरहेका छन्। तर देउवा समूहको नै बलियो कसी भएका कारणले निधि ब्याक हुने खेलमा छैनन्।
‘मैले पुस्तान्तरणको सवाल पनि उठाएको छु। एक कार्यकाल म सभापति हुने हो र अर्को महाधिवेशनमा मपछिको पुस्तालाई दिने भनेको छु, यो विषयलाई नेता कार्यकर्तासम्म पुराउँछु’, निधिले भनिसकेका छन्,‘यसका लागि विभिन्न समूहले नयाँ समीकरण तय गरिरहँदा म पनि तयारी अवस्थामा नै मैदानमा आउनेछु।’
देउवाविरुद्ध निधिले सभापतिमा ‘फाइट’ गरेको खण्डमा कांग्रेसको आगामी नेतृत्व कोइराला परिवारमा जान सक्ने पनि कतिपयले अनुमान गरेका छन्। ‘एक तहमा सहमति भएन भने देउवा समूहमा आएको कांग्रेसको बिँडो अर्को समूहमा स्वभाविक रुपमा पुग्छ। तर, निधिलाई जीताउनका निम्ति विकल्पका समीकरणबारे पनि एउटा सहमति बनाउने तयारी अवश्य हुनेछ’, कांग्रेस स्रोतले भन्यो।

