
१० दिनपछि अस्पतालबाट डिस्चार्ज भए शताब्दी पुरूष जोशी
ललितपुर – संस्कृतिविद् एवं शताब्दी पुरूष सत्यमोहन जोशी १० दिनको अस्पताल बसाइबाट स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज भएका छन् ।
श्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते उनलाई ललितपुरको किष्ट शिक्षण अस्पतालमा भर्ना गरिएका जोशीको स्वास्थ्य स्थिति सामान्य भएपछि डिस्चार्ज गरेको अस्पतालले जनाएको छ ।
अस्पतालले जोशीको स्वास्थ्य सुधार भई हिँडडुल गर्नसक्ने अवस्था भएपछि डाक्टरको सल्लाहअनुसार शुक्रबार डिस्चार्ज गरिएको बताएको छ ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै, ‘हाल डा. जोशी ज्यूको स्वास्थ्यमा सुधार भइ उहाँ हिड्डुल गर्न सक्नु हुनु भएको छ । अस्पतालको बसाइको क्रममा उहाँको खानपिन सामान्य नै रहेको थियो । पल्मोनोलोजी कार्डिक तथा जेरियट्रिक फिजिसियनबाट समेत उहाँको अवस्था सुधारात्मक रहेको कुरा जानकारी भएकाले चिकित्सकको सल्लाह बमोजिम उहाँलाई शुक्रबार डिस्चार्ज गरिएको छ,’ भनेको छ ।
अस्पतालले जोशी दम्पतीको उपचार निःशुल्क रुपमा गर्दै आएको र आगामी साता डाक्टरहरुले नै फलोअपका लागि सम्पर्क गर्ने समेत जनाएको छ ।




कागजपत्र |
