

मेलम्ची आयोजनाका २३ जना कामदार सम्पर्कविहीन

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७ जना कामदारहरु उद्धार गरिएको छ ।
आयोजनामा फसेका ४७ जना कामदारहरुलाई नेपाली सेना तथा निजी कम्पनीको हेलिकप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा राखिएको छ ।
हेलम्बु गाउँपालिका – १ आम्बाथानमा रहेको आयोजनाको मुहान नजिकैको क्याम्पमा बस्ने ७० जना कामदार तथा आयोजनाका कर्मचारीहरु बाढीमा फसेका थिए । केही कामदारहरु भागेर ज्यान जोगाउन सफल भए भने अन्य सम्पर्कविहीन छन् ।
आयोजनाको कर्मचारी मजदुरहरुको उद्धारमा मेलम्ची खानेपानी आयोजना, निर्माण व्यवसायी, परामर्शदाताहरु खटिरहेको र बेपत्ताहरुको खोजी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
अम्बाथान क्याम्पमा नेपाली, भारतीय र चिनियाँ कम्तिमा ७० जना कामदार रहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार ७० जना मध्ये अझै २३ जना सम्पर्कविहीन छन् ।
मंगलबार राति आएको बाढीले कामदारहरु बसेको क्याम्प बगाएको थियो ।

