

धरानकाे बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

विराटनगर – सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।
बीपीको बेथिति अन्त्यको लागि गठन भएको धरान नागरिक दबाब सञ्जालले प्रतिष्ठानलाई एक साताको अल्टिमेटम दिएसँगै प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको हो।
पछिल्लो समय प्रतिष्ठानमा भएका अनियमितताका सन्दर्भमा नागरिक दबाब सञ्जालले जेठ २४ गते प्रतिष्ठानका चारै जना पदाधिकारीहरूलाई भेटेर प्रतिष्ठान सुधारको लागि एक साताको अल्टिमेटम दिँदै ध्यानाकर्षण पत्र बुझाएको थियो। अल्टिमेटमको समय सोमबार सकिँदै छ।
अनुसन्धानमा खटिएका एक अधिकारीले प्रतिष्ठानमा भइरहेको अनियमितताको विभिन्न विषयमा उजुरी परेकाले अनुसन्धान र अनुगमन गरेको जानकारी दिए। प्रतिष्ठानसँग सम्बन्धित धेरै विषयमा छानबिन भइरहेकोले अनुसन्धानको क्रममा प्रतिष्ठान गएको उनले बताए।

