
नेपाल अष्ट्रेलियासँग ३–० गोलले पराजित
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित भएको छ। दोस्रो हाफ १० खेलाडीमा सिमित भएको नेपालले अष्ट्रेलियासँग ३–० ले पराजित भएको हो।
पहिलो हाफको अन्त्यतिर रोहित चन्दले रातो कार्ड पाएपछि नेपालले दोस्रो हाफ १० खेलाडीमा सिमित रहेर खेलेको थियो। पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा १ गोल खाएको हो।
यस जितसँगै अष्ट्रेलिया विश्वकप छनोटको तेस्रो चरण र एसियन कपको लागि छनोट हुँदा नेपाल भने एसियन कपको तेस्रो चरण खेल्न प्लेअफको पर्खाइमा हुनेछ।
खेलको छैटौं मिनेटमा नै अष्ट्रेलियाले अग्रता लिएको थियो। कप्तान म्याथ्यु लेकिले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए। अजिज बेहिचले बायाँ विंगबाट दिएको क्रसलाई लेकिले रोहित चन्दभन्दा अघि रहेर हेडरमार्फत गोल गरेका थिए।
त्यस्तै ३७ औं मिनेटमा अष्ट्रेलियाले अग्रता दोब्बर पार्यो। लेकिले दायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै दिएको कटब्याकमा फ्रान कारासिचले गोल गरेका थिए।
त्यस्तै दोस्रो हाफको ५७ औं मिनेटमा अष्ट्रेलिया अग्रता बढाउन सफल भयो। ज्याक्सन अर्भाइनको सानदार पासलाई मार्टिन बोएलले सहजै गोल गरिदिए। अर्भाइनले पेनाल्टी क्षेत्र बाहिरबाट नेपालको डिफेन्स लाइनलाई चिर्दै निकालेको पासलाई फार पोस्टमा बोएलले सहजै गोल गरे।
यस हारसँगै नेपालको एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ। अब तेस्रो चरण पुग्न नेपालले प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ। सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्।
अष्ट्रेलिया भने ७ खेलमा २१ अंकसहित विश्वकप छनोटको तेस्रो चरण तथा एसियन कपका लागि छनोट भएको छ। नेपाल भने ८ खेलमा ६ अंकसहित चौथो स्थानमा रहयो।



कागजपत्र |
