महामारीका बीच महाधिवेशन गर्ने उपाय खोज्न देउवालाई युवा नेताको आग्रह


काठमाडौं – नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर १४औं महाधिवेशन गर्ने उपाय खोज्नुपर्ने बताएका छन् ।

सभापति देउवालाई भेटेर युवा नेताहरुले कोरोना महामारीका बीच १४औं महाधिवेशन गर्ने उपाय खोज्नुपर्ने बताएका हुन् । केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, जीवन परियार लगायतका नेताहरु सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए ।

नेताहरुले भदौमा निर्धारित महाधिवेशन गर्नु साझा दायित्व भएको भन्दै क्रियाशील सदस्यता छानबिन समितिलाई सक्रिय बनाउन र पार्टीको बैठक राखेर कार्यतालिकामा आवश्यक परिमार्जन गर्न आग्रह गरेका छन् ।

कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको डेटा सिस्टममा इन्ट्री गर्न दिएको अन्तिम म्याद मंगलबार मध्यराति १२ बजे सकिंदैछ । हालसम्म करिब ८ लाख डेटा इन्ट्री भएको छ । तर सिन्धुपाल्चोक लगायत कतिपय जिल्लामा विवादका कारण क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रभावित भएको छ भने कतिपय जिल्लाको डेटा इन्ट्री भइसकेको छैन ।

कांग्रेसको असार २० बाट वडा अधिवेशन गर्नुपर्ने कायतालिका छ । प्रदेश अधिवेशन साउन ६ मा हुनेछ भने केन्द्रीय महाअधिवेशन भदौ ७–१० का लागि तोकिएको छ । नेताहरुले प्रदेश र केन्द्रको अधिवेशनको अवधि घटाएर नयाँ कार्यतालिका बनाउन आग्रह गरेका छन् । जवाफमा सभापति देउवाले महाधिवेशन गर्न आफू प्रतिवद्ध रहेको भन्दै पदाधिकारी बैठक राखेर आवश्यक निर्णय गर्ने बताएका छन् ।

प्रतिक्रिया