

माधव नेपाल समूहको ताकः सदन पुनःस्थापना भए एकता, विघटन भए नयाँ पार्टी दर्ता

काठमाडौं– नेकपा एमालेबाट निष्काशनमा परेका नेता माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको फैसलाका आधारमा राजनीतिक कदममाथि निर्णय लिने भएको छ।
शनिबार उक्त पक्षको स्थायी कमिटीको बैठकमा यस्तो निर्णय भएको हो। ‘एकताका लागि पनि पहल गरिनेछ। तर हाम्रो बटम लाइनचाहिँ प्रतिनिधि सभा विघटनमा आत्माआलोचना गर्नुपर्ने समेत रहेका कारणले अध्यक्ष तथा प्रधानमन्त्री ओली तयार भए ठिक छ नभए अदालतको फैसला कुर्नेछौं’, एक नेताले भने।
धेरैजसो कार्यकर्ताले पार्टी एकतामा जानु भन्दा पनि नयाँ पार्टी गठन नै उचित हुने राय दिएपछि नेपाल पक्ष निर्णयको अलमलमा रहेको छ। नयाँ पार्टी दर्ता गरी अघि बढ्दा निकै कठिन हुने तर एकतामा सहमति भए ओलीलाई कर्नरमा राख्नेगरी अघि बढ्न सकिने पनि उक्त समूहको ठहर रहेको छ।

