

मध्यरातमा महताेको स्पष्टोक्ति– ‘मेरो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लाग्ने गरी प्रचार गरियो’ (विज्ञप्तिसहित)

काठमाडौं । नवनियुक्त उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्ति तोडमोड गरिएको भन्दै स्पटोक्ति दिएका छन् । उनले उपप्रधानमन्त्रीको शुक्रबार साँझ कार्यभार सम्हाल्दै बहुराष्ट्र राज्यको स्थापना हुनुपर्ने धारणा राखेका थिए ।
तर, शनिबार मध्यराति निजी सचिवालयको लेटरहेडमा विज्ञप्ति जारी गर्दै उनले शुक्रबारको अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लगाइएको बताएका छन् । ‘हिजोको मेरो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार–प्रसार भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रहि एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात् गर्दै यो राज्य सबै जात, जाति, वर्ग, समुदाय धर्म, लिंगको साझा राष्ट्र हो भने आशय व्यक्त गरेको हुँ,’ उनले स्पष्टीकरण दिएका छन् ।
संविधानमा रहेका असन्तुष्टि सम्बोधन गर्न संशोधनको प्रयोजनका निम्ति गठित कार्यदलमा धारणा राख्ने बताउँदै मुद्दा ब्युँताउने संकेत भने गर्न छुटाएका छैनन् । “म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको छ,” उनले अन्तिममा भनेका छन्, ‘यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने प्रष्ट पार्न चाहन्छु ।’
यसअघि महतोको उक्त अभिव्यक्तिप्रति विपक्षी गठबन्धनले समेत भत्र्सना गरेको थियो । त्यसका साथै सामाजिक सञ्जालमा महतोको अभिव्यक्तिको विषयलाई लिएर जनमानसमा खेदजन्य आवाजहरु उठेका थिए ।
विज्ञप्तिः

