

२४ बर्ष भित्र आफैंले सुरु गरेको नियतीको घुम्तीमा माधवकुमार नेपाल

काठमाडौं– नेकपा एमालेले नेता माधवकुमार नेपाललाई पार्टीको हितविपरित काम गरेको भनी साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ। यो कारबाहीले केही लछारपाटो नलगाउने नेता नेपालले बताउँदै आएका छन्।
यति मात्र होइन उनी नयाँ पार्टी गठनको तयारीमा पनि छन्। यसैकारण विहीबार भर्चुअल माध्यमबाट आफूनिकट केन्द्रीय सदस्यसँग बैठक गर्दैछन्। त्यसअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कारबाहीले केही पनि नहुने उनको दाबी रहँदै आएको छ।
नवौं महाधिवेशनपछिको यो अवस्थामा नेपाल भने आफैंले कारबाही गरेको घुम्तीमा उभिन पुगेका छन्। छैठौं महाधिवेशनपछि उनी आफैंले एमालेका ‘क्रिम’ नेताहरूलाई कारबाही गरेको विज्ञप्ति जारी गरेका थिए।
त्यसबेला मनमोहन अधिकारी अध्यक्ष थिए भने नेता नेपाल एमाले महासचिव थिए। उनले पार्टीको हितविपरित लागेको भन्दै सांसद र नेतालाई कारबाही गरेका थिए।
२४ बर्षअघि २१ फागुन ०५४ मा उनले एक विज्ञप्ति जारी गर्दै एमालेका तत्कालिन नेताहरू बामदेव गौतम, सीपी मैनाली, देवी ओझा, सहाना प्रधान, हिरण्यलाल श्रेष्ठ, घनश्याम भुसाल, सीतानन्द राय, केशवलाल श्रेष्ठ र मोहनचन्द्र अधिकारीलाई पार्टीको हितविपरित काम गरेको भनी साधारण सदस्य समेत नरहनेगरी निकालेका थिए।
‘आफ्नो स्वार्थका निम्ति आफूविपरित उभिनेलाई माधव नेपालले कहिले पनि छाडेनन्, अघि बढ्न पनि दिएनन्’, सीपी मैनालीले कतिपय अन्तरवार्तामा भन्ने गरेका छन्,‘जहिले पनि पदमा हुनुपर्ने मानसिकताले ग्रसित हुन् उनी।’
खासमा महाकाली सन्धीको विरोधमा उभिएका कारण उनले यी नेतालाई कारबाही गरेका थिए। तर सोही नियतीमा अहिले आफू उभिएका छन्। उनीलगायत कतिपय नेतालाई अध्यक्ष ओलीको बैठकले अहिले कारबाही गरेको छ।

