

घनश्याम भुसालको स्पष्टिकरणः एक जना कमरेडले ‘नयाँ खिलराजहरूको अभ्यास हुनेछ’ भनेका थिए

काठमाडौं– नेकपा एमालेका नेता घनश्याम भुसालले नयाँ खिलराज रेग्मीहरूको जस्तै अभ्यास हुने पूर्वजानकारी पाएको बताएका छन्।
सामाजिक सञ्जालमा मेरो स्पटिकरण भन्दै उनले उक्त विषयको खुलासा गरेका हुन्। दैनन्दिन सूचनाको खोजीमा खासै चासो नराख्ने उल्लेख गरेका उनी लेख्छन्,‘दलाल पूँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहने छ भन्ने मेरो अर्थ राजनीतिक र भूराजनीतिक बुझाईबारे बोल्दै–लेख्दै आएको छु।’
उनले अगाडि लेखेका छन्,‘एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ। त्यस्तो विश्लेषण केही भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो।’
गत बर्षको ८ वैशाखमा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोली वा पर्सीपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो भन्दै उनले लेखेका छन्,‘उनले भनेका थिएः नेकपाको विवाद समाधान हुँदैन। अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ। संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ।’
सोही शिलशिलालाई निरन्तरता दिँदै उनी अगाडि जोड्छन्,‘संविधानले काम गर्दैन। त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ। नयाँ खिलराजहरुको अभ्यास हुनेछ। त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ।’
घटनाहरु जस्ताको त्यस्तै अगाडि बढेको भुसालको ठम्याई छ। नेकपा एमालेका केही सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको उल्लेख गरेका उनी लेख्छन्,‘एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु। तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ। मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहाने नेपालको आकांक्षाकोे पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ।’

