

‘बिरामीको दुःखद खबर सुन्न नपरेको दोस्रो लहरपछिको पहिलो सुखद दिन’

धनगढी – नेपालको सबैभन्दा पश्चिम प्रदेश अर्थात् सुदूरपश्चिम प्रदेश । नेपालमा दोस्रो लहरको कोरोना संक्रमण दरको पहिलो ढोका बनेको धनगढी । र, त्यहीँ रहेको सेती प्रादेशिक अस्पताल जहाँ नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएदेखि नै संक्रमितले भरिएको थियो । संक्रमित बढेसँगै दैनिक जसो मृत्यु भोगी रहेको सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घन्टामा भने कसैको मृत्यु भएन अर्थात् मृतक संख्या शुन्य रह्यो ।
पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमितको संख्या र मृतकको संख्या केही घट्दो क्रममा देखिएको छ, त्यसैको गतिलो प्रमाण सेती अस्पतालमा देखियो । उपचाररत बिरामीमध्ये कसैले पनि ज्यान गुमाउनु परेन । ‘धेरैपछि पहिलोपटक अस्पतालमा कुनै बिरामीको दुःखद खबर सुन्नु परेन’, सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले भने ।
अस्पतालमा पछिल्लो २४ घण्टामा ८११ को नमूना परीक्षण गरिएकोमा १३४ मा संक्रमणको पुष्टि भएको छ । अघिल्ला दिनको तुलनामा संक्रमण दर पनि घटेको छ । अस्पतालमा ४४ संक्रमित उपचाररत रहेकोमा तीन जनाको भेन्टिलेटरमा, १५को सघन उपचार कक्ष, २५ जनाको अक्सिजनको सहयोगमा उपचार व्यवस्थापन भइरहेको पनि श्रेष्ठले भने ।
यस वाहेक मोड्रेट केशका चार र आकस्मिक कक्षमा पाँच जनाको उपचार भइरहेको छ । सो अवधिमा २८ उपचार व्यवस्थापनपछि घर फर्किएका छन् भने छ जना भर्ना भएका छन् ।
यसैबीच बिहीबारसुदूरपश्चिम प्रदेशभर नौ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कञ्चनपुर र कैलालीका चार ÷चार तथा अछामका एक संक्रमितको मृत्यु भएको हो । पछिल्लो २४ घण्टमा प्रदेशमा एक हजार ९८७ जनाको एन्टिजेन र पिसिआर परीक्षण हुँदा ४८७ नयाँ सक्रमित थपिएका छन् । यो अवधिमा ५६९ उपचार व्यवस्थापन पछि घर फर्किएका छन् ।
प्रदेश भरीको तथ्यांक विश्लेषण गर्दा केही दिन यता कोरोना भाइरसको संक्रमण र मृत्यु हुने दर घट्दो क्रममा छ । दोस्रो लहरको कारोना भाइरस फैलिएयता यही जेठ ७ गते एकै दिन प्रदेशमा सबै भन्दा बढी ९८४ नयाँ संक्रमित थपिएका थिए । प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ जना संक्रमितको मृत्यु भएको थियो ।

