सरकारबाट फिर्ता नभएपछि नेपाल समुहका तीन मन्त्रीलाई स्पष्टीकरण सोध्ने एमालेको तयारी


कैलाली – पार्टी केन्द्रको निर्णयअनुसार सरकारबाट फिर्ता नभएको भन्दै नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ ।

सुदूरपश्चिममा पार्टी निर्णय उल्लंघन गर्ने काम भएको भन्दै उनीहरुलाई बिहीबार २४ घण्टे स्पष्टीकरण सोधिने र चित्तबुझ्दो जवाफ नआए साधारण सदस्य समेत नरहने गरी कारवाही गरिने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले बताए ।

सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा एमालेका प्रकाश बहादुर शाह आन्तरिक मामिला तथा कानुन, कृष्णराज सुवेदी सामाजिक विकास र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।
शाह, सुवेदी र भट्ट तीनैजना खनाल–नेपाल समूहका हुन् ।

एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बुधबार बसेको बैठकले पार्टी केन्द्रको निर्देशनविपरीत सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया