

७ बर्षमा बल्ल–बल्ल बन्यो पक्की पुल तर सञ्चालनमा आएन

धादिङ– नुवाकोट र धादिङ जोड्ने रणनीतिक मानिएको ‘त्रिशूली नदी पक्की पुल’ सञ्चालनमा नआउँदा सर्वसाधारणले सास्ती झेल्न बाध्य भएका छन्।
धादिङ निलकण्ठ नगरपालिकाबासीले पुल बने पनि यो हैरानी खेप्नु परेको हो। सडक विभागले धादिङतर्फको फोस्रेटारमा करिब १५ मिटरको एप्रोज सडककको ट्रयाक हालसम्म खुलाउन नसक्दा नगरपालिबासी तथा नुवाकोटका तारकेश्वर गाउँपालिका(तारुका)का बासिन्दाले अकालमा ज्यान समेत गुमाएका छन् ।
सो पुल धादिङको गल्छि गाउँपालिका–१ र नुवाकोटको बेलकोटगढी नगरपालिका–५ मा पर्छ । सडक डिभिजन कार्यालय भरतपुरद्वारा यही ७ जेठमा जारी पत्रअनुसार फोस्रेटारतर्फका केही सीमित व्यक्तिका अनावश्यक अबरोध, असहयोग, विवादका कारण ट्रयाक खोल्न नसकिएको हो । ती दुई जिल्लाको सामाजिक तथा आर्थिक विकास एवम् रणनीतिक दृष्टिकोणले उक्त पुल महत्वपूर्ण मानिएको छ । केउरिनी–फोस्रेटार–आँपचौर–सुनौला बजार–धादिङबेशी सडकमा अवस्थित सो पुलको लम्बाई १२० र चौडाइ १६ मीटर छ ।
निर्माण सम्पन्न भएको तीन महिना पुग्दा पनि पुल सञ्चालनमा नल्याइएकाृमा आपत्ति जनाउँदै छिटो विवाद टुङ्ग्याउन दबाब दिन निलकण्ठ–५ का युवाले ‘पुल सञ्चालन अभियान’ नै शुरुआत गरेका छन्।
पूर्व सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति, निलकण्ठ नगरपालिका, गल्छि गाउँपालिका र विभागलाई छिटो भन्दा छिटो पुल सञ्चालनमा ल्याउन अभियानकर्मीले माग गरेका छन्।
एप्रोज सडककको ट्रयाक खोल्ने विषयमा छिटो अध्ययन गरी ती सडकमा पर्ने जग्गाको मुआब्जा दिन आवश्यक परेमा मुआब्जा दिन र छिटो विवाद अन्त्य गर्न समेत अभियानकर्मी ती निकायको ध्यानाकर्षण समेत गरिएको छ।
कार्यालयका इञ्जिनियर कृष्णबहादुर खड्काले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय धादिङ, निलकण्ठ नगरपालिका र गल्छि गाउँपालिकालाई एप्रोज सडककको ट्रयाक खुलाउन आवश्यक सहयोग र सहजीकरण गर्न पत्राचार गरिएको जानकारी दिए।
उनले ती निकायबाट आवश्यक सहयोग र सहजीकरण गरिदिएमा छिटो भन्दा छिटो एप्रोज सडककको ट्र्याक खुलाइ पुल सञ्चालनमा आउने जानकारी दिए।
चार बर्षमा बन्नुपर्ने पुल सात बर्षमा बल्ल सम्पन्न भएको थियो। २०७१ मा सडक विभाग र सपना हिम्डुङ एण्ड थोकर तथा नागार्जुन कन्सट्रक्सन जेभी कम्पनीका बीचमा ठेक्का सम्झौता भएको थियो। सो पुल सञ्चालनमा आएमा गल्छीदेखि केउरिनी–फोस्रेटार–आँपचौर–सुनौला बजार–धादिङबेशी पुग्न १० किलोमिटर बाटो छोटो हुने बताइएको छ ।
नुवाकोटको तारुका जान समेत पनि सो बाटो सहज हुन्छ । एक अभियानकर्मी भन्छन्,‘पुल सञ्चालन गर्न हामीले धेरै कोसिस गरेका छौं। पक्कि पुल भनेर के गर्नु? उपयोग गर्न नपाएपछि । बिरामीलाई अस्पताल लान नसक्दा ज्यान गुमाउनु परेको छ।’
सो ठेकेदार कम्पनीले नुवाकोटतर्फको ३०० मिटर सडक कालोपत्रे गरिसकेको छ। निलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले बाटो खुलाउन प्रयास भइरहेको जानकारी दिए। उनले भने,‘जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएको समस्यालाई समाधान गर्न पहल भइरहेको छ। समाधान निस्कन्छ।’
उक्त सडकको ट्रयाक खुलाउन शुरुआतका समयमा रोडबोर्ड नेपालले आर्थिक सहयोग गरेको थियो। यस कार्यमा बोर्डका तत्कालीन इञ्जिनियर मुरलीगोपाल रञ्जितकार र निलकण्ठ –५ का समाजसेवी एवम् राजनीतिज्ञ रामहरी शर्मा नेपालको योगदान छ।
उनलेभ भने,‘अब सडक कालोपत्रे गर्न सबै जुट्नुपर्छ। यसका लागि सहयोग र सहकार्य आवश्यक छ ।

