

प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा लिएर सर्वोच्च पुगे अधिवक्ता त्रिपाठी

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा लिएर कानुन व्यवसायी सर्वोच्च अदालत पुगेका छन् ।
अदालतको फैसलाको अवहेलना गर्दै प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा लिएर कानुन व्यवसायी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सर्वोच्च अदालत पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले गरेको प्रतिनिधि सभा पुनर्बहालीलाई असफल गराउने बदनियत राखेको र विश्वासको मतमा पराजित भएपछि प्रतिशोध एवं वदनियतपूर्ण तरिकाले संसद विघटन गरेको अधिवक्ता त्रिपाठीले उल्लेख गरे ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले २४ घण्टाभित्र प्रधानमन्त्री ओलीलाई अदालतमा उपस्थित गराई न्याय प्रशासन ऐन, २०७३ को दफा १७(४) बमोजिम हदै सम्म सजाय माग गरेका छन् । अदालतको अवहेलनामा प्रधानमन्त्रीविरुद्ध एक वर्ष कैद र १० हजार रुपैयाँसम्म सजायको व्यवस्था छ ।
उक्त रिट सर्वोच्चमा दर्ता भने भइसकेको छैन ।

