ओलीले मन्त्रिपरिषद विस्तार गर्दै, जसपाको ठाकुर पक्षबाट को–को बन्दैछन् मन्त्री?


काठमाडौँ – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। उक्त पक्षका नेताहरुलाई मन्त्रिपरिषद्मा ल्याउने तयारी भइरहेको बताइएको छ।

प्रधानमन्त्री ओलीले जसपाका ठाकुर–महतो पक्षले उठाउँदै आएका मागहरु सम्बोधन गर्न थालेपछि उक्त पक्ष सरकारमा सहभागी हुन लागेको हो। यसैका लागि सरकारको आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरिसकेको छ ।

नागरिकतासम्बन्धी अध्यादेश आएपछि अब जसपाको ठाकुर पक्ष सरकारमा जान लालायित भएको हो। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपालाई आठ वटा मन्त्रालय दिने सहमति भएको छ।

तर, जसपाकै अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष भने ओली सरकारको विरुद्धमा छ। ठाकुर–महतो पक्षले ओलीलाई साथ दिए पनि यादव–भट्टराई पक्षले भने विपक्षी गठबन्धनलाई सघाइरहेको छ।

आइतबार मात्रै यादव–भट्टराई पक्षले ‘प्रतिगमनकारी ओली सरकार’मा आफ्नो पार्टीका कुनै पनि सदस्य सामेल नहुन चेतावनी दिएको छ। यदि सरकारमा सहभागी भएमा पार्टीबाट स्वतः निष्काशित हुने प्रष्ट पारेको छ।

मन्त्रिमण्डलमा ठाकुर आफै उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय लिएर जाने सम्भावना पनि छ। तर, राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाने सम्भावना बलियो रहेको बुझिएको छ। महतोले गृह मन्त्रालयको दाबी गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ।

पूर्वमाओवादी ७ मन्त्रीहरु सर्वोच्च अदालतको ६ जेठको आदेशबाट पदमुक्त भएपछि ती मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली स्वयंले लिएका छन्। ती मन्त्रालयहरुमा जसपाको ठाकुर–महतो पक्षधरलाई व्यवस्थापन गर्ने तयारी ओलीले गरेका छन्।

मन्त्री बन्ने सूचीमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, विमल प्रसाद श्रीवास्तव, चन्दा चौधरी, उमाशंकर अगरिया, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, प्रमोद साह, चन्द्रकान्त चौधरी अग्रपंक्तिमा छन्। उनीहरुले महन्थ पक्षमा रहेर ओलीलाई साथ दिएका थिए।

यसैगरी, पूर्वमाओवादीका नेताहरु रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा, गौरीशंकर चौधरी, प्रभु साह र दावा लामामध्येबाट केहीलाई नयाँ मन्त्रिमण्डलमा थप्ने ओलीको तयारी छ। बादलले गृहमन्त्रीकै जिम्मेवारी पाउने सम्भावना पनि रहेको छ।

तर, ओलीले आफ्ना विश्वासपात्र कसैलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको बुझिएको छ। एमालेका कतिपय मन्त्रीहरु बिदा हुने सम्भावना छ। इश्वर पोखरेलले गृहमन्त्रीको चाहना राखेको बुझिएको छ। महेश बस्नेत र गोकुल बाँस्कोटा पनि मन्त्री बन्ने सम्भावना रहेको छ।

प्रतिक्रिया