

प्रधानमन्त्रीको काँधमा मन्त्रालयको चाङ, पोखरेललाई गृहको जिम्मेवारी देलान्?

काठमाडौं – सरकारको जिम्मेवारी र दायित्व बढ्दै गइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीका काँधमा यतिबेला ८ मन्त्रालय सम्हाल्नुपर्ने बाध्यता आइलागेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलको जिम्मेवारी हेरफेर गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मा दिनुअघि ओलीले कुनै पनि अतिरिक्त मन्त्रालय आफ्नो मातहतमा राखेका थिएनन्।
पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सीमित गरेर रक्षा मन्त्रालय आफूसँग राखेका ओलीले अब थप सातसहित ८ मन्त्रालय सम्हाल्नुपर्ने भएको छ। ओलीले आफूसँग राखेका मन्त्रालयमा अब मन्त्री नियुक्त होला कि यसैंगरी सञ्चालन होला भन्ने जिज्ञासा अहिले सबैतिर छ।
सर्वाेच्च अदालतले ६ वैशाख ०७८ गैरसांसदहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा गौरीशंकर चौधरी र दावा लामालाई मन्त्रीमा गरिएको नियुक्ति बदर गरेको थियो। उनीहर सबै माओवादी केन्द्रका पूर्वनेताहर हुन्।
उनीहरूको नियुक्ति बदरपछि ओलीले गृह, जलस्रोत तथा ऊर्जा, उद्योग, वाणिज्य तथा आपूर्ति, सहरी विकास, खानेपानी तथा सरसफाइ, श्रम तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी बहालवाला मन्त्रीलाई दिनसक्थे। तर उनले ती सबै मन्त्रालय आफैंसँग राखेका छन्।
खासगरी अन्य मन्त्रालयका उतिधेरै चासो नभए पनि सुरक्षासँग सम्बन्धित गृह मन्त्रालयको जिम्मेवारीमा धेरैको चासो छ। गृह मन्त्रालयको जिम्मेवारी ओलीले उपपधानमन्त्री पोखरेललाई नै दिनसक्ने सम्भावना पनि बढ्दो छ। किनकि ओलीले पोखरेलको जिम्मेवार खोसेर आफु मातहत राखेपछि पोखरेललाई नै दिनसक्ने बताइन्छ।
त्यसो त आफूलाई साथ दिएका जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई पनि आफ्नो चुनावी सरकारमा सहभागी गराउनुपर्ने बाध्यतामा ओली छन्। त्यसैले उनले आफ्नो मन्त्रीमण्डलमा सबै पक्षलाई समेटेर निर्णय लिने सम्भावना छ। यता, जसपाले गृहमन्त्रालयसहित सात मन्त्रालयको दावी गरेको बताइन्छ।
यता, मन्त्री पद गुमाएका सातै जनालाई ओली पुनः जिम्मेवारी दिने सोचमा ओली छन्।
त्यस्तै यतिबेला प्रतिनिधिसभा विघटनसँगै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विपक्षी दलको कटाक्ष जारी छ। प्रतिनिधिसभालाई विघटन गरेर प्रतिगामी कदम चालेको आरोप उनीहरूले राष्ट्रपति र प्रधानमन्त्रीलाई लगाइरहेका छन्।
काग कराउँदै गर्छ पिना सुक्दै गर्छको शैलीमा सरकार निवाचनको जुट्ने तरखरमा देखिन्छ।

