६ युवा संगठनले भन्यो : राष्ट्रपति र प्रधानमन्त्रीको कदम गैरसंवैधानिक र राष्ट्रघाती


काठमाडौं – बिपक्षी गठबन्धन आबद्ध ६ युवा संगठनले राष्ट्रपति र प्रधानमन्त्रीबाट असंवैधानिक र राष्ट्रघाती भन्दै आन्दोलनमा उत्रिन अपिल गरेको छ ।

शनिवार विभिन्न ६ राजनीतिक दल निकट नेपाल तरुण दल, योङ कम्युनिष्ट नेपाल, युवा संघ नेपाल लगायतले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्री ओलीको कदमलाई अक्षम्य अपराध भनेको छ ।

राष्ट्रपतिको आह्वानकै आधारमा तोकिएकै समयमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै १४९ जना सांसदले दाबी पेश गर्दा समेत अश्वीकृत गर्नु असंवैधानिक भएको उनीहरुको ठहर छ ।

उनीहरुले राष्ट्रपति भण्डारीले संविधानको हत्या गरेको जिकिर सहित यथाशिघ्र कानुनी कठघरामा उभ्याउन माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अक्षम्य अपराधमा संलग्न भण्डारी तथा ओलीलाई पदमुक्त भइसके पश्चात समेत कारवाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले समेत निर्माण गर्न अपिल गर्दछौँ ।’

प्रधानमन्त्री ओली नेपाललाई संवैधानिक संकटको व्यवस्था सृजना गर्दै सिक्किमिकरणको दिशामा लान उद्दत् रहेको उनीहरुको आरोप छ । विज्ञप्तिमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र प्रति सुरुदेखि नै पूर्वाग्रह राख्ने ओलीले संवैधानिक संकट निम्त्याउने आफ्नो प्रयत्नलाई एक कदम अगाडि बढाएका छन् । यो उनको २०७७ पुष ५ को असफल संसद विघटनको निरन्तरता मात्र हो । ओली वास्तवमा नेपाललाई संवैधानिक संकटको व्यवस्था सृजना गर्दै सिक्किमिकरणको दिशामा लान उद्दत् छन् ।’

विज्ञप्तिमा नेपाल तरुण दल अध्यक्ष जितजंग बस्नेत, योङ कम्युनिष्ट नेपाल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’, युवा संघ नेपाल अध्यक्ष, नरेश कुमार शाही, समाजवादी युवा संघ–नेपाल अध्यक्ष, योगेन्द्रराय यादव, अखिल नेपाल युवक संघ अध्यक्ष, अलिनकिशोर घिमिरे र विवेकशील साझा युवा संगठन अध्यक्ष अब्दुस मियाको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया