राष्ट्रियसभा उपनिर्वाचनमा एमाले ठहरअनुसार अन्तरघात गर्ने यी हुन् १४ प्रदेशसभा सदस्य


काठमाडौं– राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गराउन अन्तरघात गरेको भन्दै १४ जना बागमतीका प्रदेशसभा सदस्यलाई स्पष्टिकरण सोधिएको छ।

आइतबारसम्मको समयसीमा दिएर एमाले बागमति प्रदेश संसदीय दलले अन्तरघात गरेको ठहर गर्दै बादललाई मत नदिनुको कारणसहित स्पष्टिकरण सोधेको छ।

स्पष्टिकरण सोधिएकामा नेत्री अष्टलक्ष्मी शाक्यदेखि राजेन्द्र पाण्डेलगायतका छन्। एमालेका अनुसार अरुण नेपाल, बसन्त मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल, शान्तिप्रसाद पौडेलसँग स्पष्टिकरण माग गरिएको छ।

यसैगरी मुनु सिग्देल, इन्द्रमाया गुरुङ, मिना ज्ञवाली, बसुन्धरा हुमाँगाई, लक्ष्मण लम्साल, कुसुमकुमार कार्की र पार्वती सिलवाललाई पनि बादललाई मत नदिएकोबारे स्पष्टिकरण सोधिएको हो।

राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि सञ्चालन गरेकोलगायतका आरोप लगाएर प्रदेशसभा सदस्यलाई संसदीय दलको विधानको दफा २५, उपदफा ३ देहाय (क, ख, ग, घ र ङ) अनुसार अनुशासन उल्लङ्घन गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरिएको नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

 

प्रतिक्रिया