बादललाई बज्रपात !


आज २०७८ जेठ ६ गते बिहीबार । पछिल्लो समयमा सबैभन्दा विवादित बनेका नेपालका दुई कम्युनिस्ट दल नेकपा एमाले र माओवादी केन्द्रबीचको शक्ति संघर्षमा फरक दृष्टान्त प्रस्तुत भए । फरक भन्दा पनि एमाले पक्षधरलाई झड्का लाग्ने दुई घटना घटे । पहिलो घटना प्रधानमन्त्री केपी शर्मा ओलीले ४२ औं प्रधानमन्त्रीका रुपमा सपथ खाईसकेपछि माओवादी केन्द्र छाडेका ७ मन्त्रीलाई निरन्तरता दिने निर्णयमाथि सर्वोच्चले अंकुश लगाइदियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसङ्घीय संसद्को सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एक पटकलाई बढीमा ६ महिना मात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो ।

अधिवक्ता कपिलदेव ढकाल र बिराज थापाले दायर गरेका रिटमाथिको प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश राणाको इजलासले एक पटक ६ महिनाका लागि मन्त्री हुन पाउने र त्यसबिचमा सङ्घीय संसद्को सदस्य नभए स्वतः पदमुक्त हुने व्यवस्था गरेको भन्दै ओलीको पछिल्लो क्याबिनेटमा उनीहरूको पुनः नियुक्ति संविधानसम्मत नरहेको ठहर गरेको छ ।

आफ्नो पक्षमा फैसला नआउँदा  ओलीको विश्वासपात्र भनेर प्रचार गरिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले ७ मन्त्रीविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्दै मन्त्रीको रुपमा कुनै पनि कार्य नगर्न र नगराउन आदेश दिएको छ । राणाको बिहीबारको आदेशसँगै उक्त आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योग मन्त्री लेखराज भट्ट, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रम मन्त्री गौरीशङ्कर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।

सर्वोच्चको आदेश आएको केही समयमै एमालेका ओली पक्षधर एवं निवर्तमान रामबहादुर थापा बादललाई अर्को झड्का लाग्यो । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पराजित हुँदै एकैदिन बादललाई दुई झड्का लाग्यो ।

बाग्मती प्रदेशको मुख्यालय हेटौंडामा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्।

बिहीबार ३ बजेसम्म भएको मतदान पछि सुरु भएको मतगणनामा देवकोटाको पक्षमा पाँच हजार ८८ मत आएको हो। देवकोटालाई नेकपा एमालेकै नेता माधवकुमार नेपाल समूहको पनि समर्थन रहेको थियो। संघीयताविज्ञ मानिएका देवकोटा नेता नेपालनिकट मानिन्छन्।

निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न पनि हेलिकोप्टर प्रयोग गरेको आरोप लाग्दै सञ्चारमाध्यममा छाएका बादल बिहीबार मतगणना सम्पन्न नहुँदै मतगणनास्थलबाट बाहिरिएको तस्विर पनि बाहिरिएको छ ।

बिहीबारका यी दुई घटनापछि तत्कालिन एनेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको टकरावमा ओली पक्षमा लागेका रामबहादुर थापा बादललाई अहिले ठूलो संकट आइलागेको ठानिएको छ । बादलमाथि आईपरेको बज्रपातलाई केपी शर्मा ओलीमाथि नै परेको बज्रपात मान्न पनि सकिन्छ । प्रचण्डका विश्वासपात्र मानिएका बादललाई आफ्नो कित्तामा उभ्याउन सफल भएका प्रधानमन्त्री ओली पछिल्ला दिनमा आफू अनुकूल राजनीति घुमाउन असफल भएको हो कि भन्ने पनि आंकलन गरिएको छ ।

 

प्रतिक्रिया