

चार्टर फ्लाइटमा लुटतन्त्रः भारतीय दूतावासले नेपाल सरकारलाई लेख्यो पत्र

काठमाडौं– साउदी अरबका लागि चार्टर फ्लाइटमार्फत जाने आफ्ना नागरिकसँग चर्को भाडा लिएपछि नेपालस्थित भारतीय दूतावासले सरकारलाई पत्र लेखेको छ।
टिकट बिक्री गर्ने नेपाली ट्राभल एजेन्सीहरुको छाता संगठन नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का केही सदस्यले चार्टर फ्लाइटका निम्ति अधिकतम रकम असुल गरेको भन्दै भारतीय दूतावासले गुहार माग गरेको हो।
काठमाडौंमा निषेधाज्ञाअघि नै आएका कम्तिमा दुई हजार भारतीय नागरिकलाई साउदी अरबको दमाम र रियादमा चार्टर फ्लाइट गर्न सरकारले नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सलाई अनुमति दिएको थियो।
भारतीय नागरिकले यी वायु सेवाका लागि अत्यधिक टिकट रकम लिएपछि दूतावासमा गुहार मागेका थिए। आफ्ना नागरिकको मागअनुसार नै दूतावासले नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखेको थियो।
काठमाडौंमा फसेका आफ्ना नागरिकका लागि २९ वैशाखमा चार्टर उडान खुलाउन दूतावासले गरेको अनुरोधअनुसार नै सरकारले काम गरेको थियो। त्यसको भोलीपल्ट नै सरकारले भारतीय अनुरोधलाई स्वीकार गरी अनुमोदन गरेको थियो।
मंगलबारदेखि भारतीय यात्रुहरुका लागि चार्टर उडान सुरु भएका थिए। श्रम गन्तव्यमा जान नेपालीहरुका लागि पनि चार्टर उडान खुलेका थिए। तर एकतर्फी भाडा नै ५ गुणासम्म उठाउन थालेपछि नेपालीले गुनासो गरेका थिए। भारतीय दूतावासले भने पत्र नै लेखेको छ।
काठमाडौंमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई महामारीका बेला यसले थप व्यक्तिगत र वित्तीय कठिनाई निम्त्याएको पर्यटन सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई दूतावासले लेखेको पत्रमा उल्लेख छ।
यो पनि पढ्नुहोस्
चार्टर फ्लाइटका नाममा लुटतन्त्रः हिमालय एयरमा साउदी अरबकै एकतर्फी भाडा १ लाख ८२ हजार

