ओली–नेपाल भेटवार्ता तय, यी हुन् एमाले विवाद समाधान कार्यदलमा सम्भावित नेता


काठमाडौं– नेकपा एमालेको विवाद समाधानका निम्ति कार्यदल गठनका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालको भेटवार्ता आइतबारका लागि तय भएको छ।

विवाद समाधानका निम्ति दुवै नेताले छलफल गरी कार्यदल गठन गर्ने भएका छन्। कार्यदलमा ओलीका तर्फबाट नेता विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदिप ज्ञवालीको नाम अगाडि आएको छ भने नेता नेपालका तर्फबाट भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको नाम अगाडि सारिएको छ।

उच्च स्रोतका अनुसार यी बाहेकको पनि कार्यदल गठन हुने भए पनि प्राथमिक रुपमा दुवै तर्फबाट उल्लिखित नेताको सम्मिलित कार्यदल बन्न सक्नेछ।

विवाद समाधानका निम्ति कार्यदल गठन गर्ने र माओवादीबाट एमालेमा आएका नेतासहितको व्यवस्थापन गरी २ जेठ ०७५ को अवस्थाबाट एमाले अगाडि बढाउने कुराकानी भएको थियो।

सोही सहमतिका आधारमा नै प्रधानमन्त्रीमा ओलीलाई अगाडि बढाउनका निम्ति नेपाल पक्षले राजीनामा नदिने समझदारी बनेको थियो। ‘पार्टीभित्रका समस्या समाधानका निम्ति अन्य नेताको पनि सहभागीत हुन सक्छ। यद्यपि पौडेल, भुसाललगायतले पार्टीभित्रको आन्तरिक विवाद मत्थर बनाउन भूमिका खेलेकाले उनीहरुको नाम प्राथमिक बनेको छ’, स्रोतले भन्यो।

प्रतिक्रिया