राष्ट्रिय सरकारको प्रस्ताव ओलीले अस्वीकार गरेकै हो: बाबुराम भट्टराई


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा राखेको बताएका छन्।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सरकार बनाउन नमानेपछि यो कुरा अरुलाई नभनेको पूर्वप्रधानमन्त्री डा. भट्टराईले आइतबार बिहान ट्वीटरमार्फत् खुलासा गरेका छन्।

देशलाई निकास दिन प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय सरकारको प्रस्ताव राखेको बताउँदै भट्टराईले अझै पनि धारा ७६ (५) बमोजिम बनाउन सकिने बताउँदै त्यसबारे सोच्न आग्रह पनि गरेका छन्।

तर, वर्तमान – पूर्व​प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव ओलीले अस्वीकार गरेपछि उक्त कुरा अरुलाई नभनेको भट्टराईले खुलाएका छन्।

‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो। मैले वर्तमान÷पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो। वहाँले नमानेपछि अरूलाई नभनेको हुँ,’ भट्टराईले लेखेका छन्।

एक टेलिभिजन अन्तर्वार्तामा एमाले नेता महेश बस्नेतले हालै डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको अभिव्यक्ति दिएपछि भट्टराईले त्यहि सन्दर्भमा ओलीलाई आफूले भेटेको र भेटमा राष्ट्रिय सरकार बनाउन भनेको प्रष्टीकरण दिएका हुन्।

प्रतिक्रिया