राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित


काठमाडौं – राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । राप्रपाका अध्यक्षत्रय सहितको आज बसेको बैठकले कोभिड–१९ महामारी भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै जेठ २२-२५ सम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने सो पार्टीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।  बैठकले कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ ।

संक्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइसियु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युदर बढिरहेको अवस्थामा निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि राप्रपाले सरकारसँग माग गरेको छ ।

कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारमा कठिनाइ भइरहेको र उपचार नपाएर मृत्युवरण समेत गर्नुपर्ने दुःखदायी अवस्था दुर्भाग्यपूर्ण भएको भन्दै राप्रपाले नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामर्थ्य प्रयोग गर्न पनि सरकारसँग माग गरेको छ ।

कोभिड–१९ संग जुधिरहेका आम जनताको सेवामा सुरक्षित रहि परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई सो पार्टीले यस्तै पार्टीको निर्देशन समिति ५ दिन भित्र गठन गर्ने निर्णय समेत भएको पार्टीका केन्द्रीय कार्यालय प्रमुख भास्कर भद्रा र ध्रुव बहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया