‘ओली नै भारतको रोजाइ, महन्थ ठाकुरलाई तटस्थ बस्नु भन्नेछ’


काठमाडौं – भारतको चर्चित पत्रिका ‘हिन्दुस्तान टाइम्स’ले नेपालको पछिल्लो राजनीति अवस्थाबारे चासो राख्दै सम्पादकीय लेखेको छ। सम्पादकीयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतको समर्थन रहेको जनाएको छ।

उक्त पत्रिकाको अनलाइन संस्करणमा प्रकाशित सम्पादकीयमा नेपालका प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपनि भारत ओलीकै पक्षमा रहेको उल्लेख गरेको छ।

साथै, भारतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई ओलीलाई सहयोग गर्न तटस्थ बस्न भनेको जनाएको छ। सम्पादकीयमा लेखिएको छ, ‘भारतको सल्लाह महन्थ ठाकुरलाई तटस्थ बस्नु भन्नेछ, दिल्लीको सपोर्ट अहिले पनि ओलीलाई नै छ।’

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका कारण प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएको हिन्दुस्तान टाइम्सले लेखेको छ।

सम्पादकीयमा भनिएको छ, ‘नेकपा एमालेकै एक समूह प्रधानमन्त्रीको विरोधमा रहेको उल्लेख गर्दै कोरोना महामारीबाट देश आक्रान्त बनेको समयमा भएको राजनीतिक घटनाले नेपालमा झनै तनाव बढाएको छ।’

यस्तै, भारतीय जनता पार्टीका नेता सुब्रमन्यम स्वामीले मंगलबार एक ट्विट गर्दै प्रधानमन्त्री ओली भारतको रोजाइ भएको र प्रचण्ड प्रधानमन्त्री भए चिनले जित्ने दावी समेत गरेका छन्।

पूर्व युनियन क्याबिनेट मिनिस्टरसमेत रहेका स्वामीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जहाँसम्म नेपालबारे मेरो जानकारी छ, ओली भारतको रोजाइ थिए, यदि प्रचण्ड प्रधानमन्त्री बने भने चीनले जित्नेछ ।’

प्रतिक्रिया