

कास्की प्रहरीको सक्रियताः अक्सिजन ग्यास सिलिण्डर संकलन गरेर उत्पादन कम्पनीलाई हस्तान्तरण

काठमाडौं – जिल्ला प्रहरी कार्यालय, कास्की कोरोना रोकथाम र उपचारका लागि पोखरामा स्वास्थ्य सामग्रीको प्रबन्धमा जुटेको छ। कास्की प्रहरीले कोभिड महामारीको अवस्था र आगामी तयारीलाई मध्यनजर गर्दै अक्सिजन सिलिन्डर संकलनमा जोड दिएको हो।
कास्कीका विभिन्न मेटल कम्पनी, वर्कसप, इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीहरुसँग रहेको अक्सिजन ग्यास सिलिण्डरहरु संकलन गरेर कास्की प्रहरीले अक्सिजन उत्पादन कम्पनीलाई हस्तान्तरण गरेको छ।
कास्की प्रहरी प्रमुख एसपी जीवन कुमार श्रेष्ठले कोभिड–१९ लाई मध्यनजर गर्द अस्पतालहरुमा अक्सिजन सिलिण्डरहरुको अभाव नहोस् भन्दै १८७ वटा ग्यास सिलिण्डर संकलन गरेर हस्तान्तरण गरिएको बताए।
‘कोरोना संक्रमित बिरामीहरुको उपचार्थमा सहयोग पुगोस् भन्ने हेतुले संकलन गरिएको ग्यास सिलिण्डर पोखरा अक्सिजन प्रा.लि. र कालीगण्डकी अक्सिजन प्रा.लि.लाई हस्तान्तरण गरेका छौं,’ एसपी श्रेष्ठले भने।
अस्पतालमा कोभिड–१९ बाट संक्रमित बिरामीको चाप बढेपछि अत्यावश्यक अक्सिजन सिलिन्डर संकलन गरिएको एसपी श्रेष्ठको भनाइ छ। संकलन सिलिण्डर पछि सम्बन्धित कम्पनी तथा संस्थालाई नै फिर्ता गरिनेछ।
साथै अन्य कम्पनी तथा व्यक्तिहरुसँग त्यस्ता अक्सिजन सिलिण्डरहरु छन् भने अक्सिजन उत्पादन कम्पनीलाई उपलब्ध गराई सहयोग गरिदिन समेत कास्की प्रहरीले अनुरोध गरेको छ।

