प्रधानमन्त्रीलाई विश्वासको मत नदिनेमा जसपाभित्र महतो पनि थपिए, अध्यक्ष ठाकुर अल्पमतमा पर्ने संकेत


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने पक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रका सांसदहरूको संख्या बढ्दै गएको छ ।

पार्टीका माग सबै पूरा नभएका कारण संसदको अंकगणितमा निर्णायक देखिएको जसपा नेपालभित्र प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा बहुमत सांसदहरू उभिने निश्चित भएको हो । निलम्बित भएका २ जना बाहेक जसपासँग ३२ सांसद रहेका छन् । जसपाले संस्थागत रुपमा मत नदिएमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत पुर्‍याउन कठिन हुने देखिन्छ ।

पार्टीले राखेका माग पूरा गरेमा सरकारलाई समर्थन दिने पक्षमा उभिँदै आएका अध्यक्ष महन्थ ठाकुरको पक्षमा रहेका नेता राजेन्द्र महतोले सरकारले सबै माग पूरा नगरेको भन्दै विश्वासको मत दिन नसकिने बताएका हुन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई लगायतका नेताहरू पहिलेदेखि नै सरकारको विपक्षमा छन् । यादव-भट्टराई पक्षले कार्यकारिणी बैठक आयोजना गरी बहुमतबाट सरकारविरुद्ध अविश्वास प्रस्ताव आए समर्थन गर्ने निर्णय लिइसकेको थियो । महतो पनि सोही पक्षमा उभिने भएपछि अध्यक्ष ठाकुर अल्पमतमा पर्ने देखिएको छ ।

प्रतिक्रिया