

चितवनमा मृतकको संख्या बढ्यो, शुक्रबार पनि नौ संक्रमितले गुमाए ज्यान

चितवन – कोरोना भाइरस संक्रमण पुष्टि भएर भरतपुरका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेकामध्ये शुक्रबार नौ जनाको निधन भएको छ । चितवनमा बिहीबार पनि नौ जनाकै निधन भएको थियो । त्यसअघि बुधबार १० जना संक्रमितको मृत्यु भएको थियो ।
चितवन स्वास्थ्य कार्यालयले उपलब्ध गराएको विवरणअनुसार शुक्रबार मृत्यु हुनेमा दुईजना चितवनकै छन् । भरतपुर अस्पतालमा दुईजना रुपन्देही तथा चितवन र नवलपुरका एकरएकजनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यसैगरी चितवन मेडिकल कलेजमा कैलाली र नेपालगञ्जका एकरएकजनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा रुपन्देहीका दुईजना र चितवनका एकजना संक्रमितको उपचारको क्रममा ज्यान गएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
कोरोना भाइरसको संक्रमणमा पुष्टि भएकामध्ये हालसम्म चितवनका मात्रै १२९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार वैशाख महिनायता चितवन जिल्लाका मात्रै १७ जना संक्रमितको मृत्यु भएको छ ।

