ओलीले फेरि ल्याउन सक्छन् दल विभाजनसम्बन्धी अध्यादेश


काठमाडौँ – कोरोना कहरको त्रासदी बढिरहेको बेला राजनीतिक सरगर्मी पनि त्यस्तै बढेको छ। एमाले स्थायी कमिटी सकिएलगत्तै मन्त्रिपरिषद बैठक डाकेर एकाएक प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न पुगे।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको परामर्शपछि प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउनसक्ने धेरैको अनुमान छ।

स्थायी कमिटी बैठक सकिएलगत्तै बिहीबार साँझ ५ बजेको लागि मन्त्रीपरिषद बैठक बोलाएर ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्। अहिलेसम्म प्रधानमन्त्री ओली शीतल निवासबाट बाहिरिएका छैनन्।

आज बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै दल विभाजन सम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्नेछ। राष्ट्रपतिबाट अध्यादेश स्वीकृत भएपछि राजपत्रमा प्रकाशित हुनेछ।

बुधबार नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेलगत्तै ओली समर्थन जुटाउन दौडधूप गरेका थिए।

माओवादी केन्द्रले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा दर्ता गरेलगत्तै प्रधानमन्त्री ओली काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न दलबलसहित बुढानिलकण्ठ पुगेपनि रित्तो हात फर्किए।

प्रतिक्रिया