देउवाको दैलोमा पुगेर प्रधानमन्त्री ओलीले राखेको खास प्रस्ताव


काठमाडौं– विश्वासको मत नदिए पनि अविश्वासको प्रस्तावको साटो तटस्थ बस्न प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेतासँग प्रस्ताव गरेका छन्।

बुधबार देउवा निवास बुढानिलकण्ठमा पुगेका उनले स्पष्ट शव्दमा भनेका थिए,‘विश्वासको मत लिन खोजेको छु। मलाई थाहा छ, यसमा सफल बन्न सकिँदैन होला। तर, यो प्रतिनिधि सभाले काम गर्न सक्तैन, तटस्थ बसिदिनुहोस् चुनावमा जाऔं।’

५ पुसमा प्रतिनिधि सभा विघटन गरेपछि भएका कतिपय कार्यक्रममा देउवाले चुनावमा जानुपर्ने धारणा राखेका थिए। उनी अर्ली इलेक्शनको पक्षमा थिए। अहिले पनि ओलीइतरको गठबन्धनमा बहुमत संख्या नपुग्ने भएका कारणले चुनावतिर नै जानुपर्ने देउवाको मनसाय छ।

‘कुनै शरण लिन वा सहयोग माग गर्ने कुरा होइन। औपचारिकता निभाउनका लागि प्रधानमन्त्री देउवा निवासमा जानुभएको हो’, उच्च स्रोतले भन्यो,‘कांग्रेस पनि चुनावमा नै जान तयार रहेका कारण सोही विषयलाई केन्द्रमा राखेर कुराकानी गर्नुभयो।’

सतह र विवरणमा नल्याइएको अर्को प्रस्ताव पनि प्रधानमन्त्री ओलीले गरेको स्रोतको दाबी छ। आवधिक चुनावसम्म जाने भए एक बर्षअघि नै देउवाको नेतृत्वमा चुनावी सरकार बनाउनका लागि एमालेले सहयोग गर्ने ओलीको प्रस्ताव थियो।

तर उक्त प्रस्तावमा कांग्रेसका अन्य नेता राजी हुने अवस्था आएन। स्रोतका अनुसार अहिले नै राजीनामा गर्नका लागि अन्य कांग्रेस नेताले सुझाव दिएका थिए।

एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादलसहित पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाको उपनिर्वाचनमा सहयोगका लागि पनि अपिल गरेका थिए। उक्त निर्वाचनमा गृहमन्त्री बादललाई मत दिनका लागि पनि उनको आग्रह थियो।

प्रतिक्रिया