कोभिड कहरमा बाँकेः थप १० जनासँगै पछिल्लो पटक मृतकको संख्या १२७ पुग्यो


काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)का कारण बाँके जिल्ला आक्रान्त बनेको छ। बुधबार राती र विहीबार विहान गरी थप १० जनाको मृत्यु भएको छ।

९ जना बाँकेका र एक जना जाजरकोटका व्यक्तिको मृत्यु भएको हो। यो सँगै पछिल्लो पटक कोरोनाका कारण बाँकेमा मृतकको संख्या १२७ पुगेको छ।

बाँकेको नरैनापुर गाउँपालिका–१ का ५६ वर्षीय पुरुषको विहीबार बिहान ७ बजे र नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको विहीबार विहान साढे ४ बजे भेरी अस्पतालमा ज्यान गएको छ। यस्तै, नेपालगञ्ज–१० का ७८ वर्षीय पुरुषको भेरी अस्पतालमा राति १ बजेर ४० मिनेटमा मृत्यु भयो भने नेपालगञ्ज १० कै ७८ वर्षीया महिलाको बुधबार साँझ साढे ७ बजे मृत्यु भएको हो ।

बुधबार साँझदेखि रातीसम्म नेपालगञ्ज–१२ का ४५ वर्षीय पुरुष, नेपालगञ्ज–१ का ५८ वर्षीय पुरुष, नेपालगञ्ज–१० का २७ वर्षीय पुरुष, र नेपालगञ्ज–४का ५५ वर्षीय पुरुषको बुधबार मध्यराति साढे १२ बजे भेरी अस्पतालमा मृत्यु भएको जनाइएको छ।

भेरी नगरपालिका–४ जाजरकोटकी ४३ वर्षीया महिलाको बुधबार राति ९ बजे नेपालगञ्जमा मृत्यु भएको छ।

प्रतिक्रिया