

रक्षा कुटनीतिमा नेपाली सेना सक्रिय हुनुको अर्थ
छिमेकका सैन्य प्रमुख, रक्षाध्यक्ष र रक्षामन्त्रीसँग समकक्षी भेट किन गरिरहेका छन् प्रधानसेनापति थापा

काठमाडौं– केही महिनायता नेपाली सेना रक्षा कुटनीतिमा सक्रिय हुन थालेको छ। नेपालमा प्रभाव राख्ने भारत र चीनका सैन्य प्रमुख तथा रक्षाधिकारीसँग प्रधानसेनापति पूर्णचन्द्र थापाको समकक्षीस्तरमा भइरहेका भेट यसका उदाहरण हुन्।
विदेशी सैन्य अधिकारीले पनि नेपालका प्रधानसेनापतिसँग समकक्षीका रुपमा भेटलाई स्वीकार गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। गत बर्ष भारतका स्थल सेना अध्यक्ष मनोज मुकुन्द नरवाणेले नेपालको भ्रमण गरेका थिए।
भारतका सैन्य प्रमुखलाई नेपालमा मानार्थ महारथीको सम्मान दिने प्रचलन छ। सो दौरान आए पनि उनको भ्रमण तय हुनुपूर्व कुटनीतिक मान्यता स्थापित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रीको हैसियतबाट उपप्रधानमन्त्री ईश्वर पोखरेलको जिम्मेवारी खोसेर आफूसँग राखेका थिए।
‘त्यो निर्णय भारतीय सेनाध्यक्षको इच्छाका आधारमा नै भएको थियो। निर्णय हुनासाथ उनको भ्रमण भयो’, उच्च स्रोतले भन्यो,‘त्यस बेला पनि नेपाली सेनालाई महत्व दिएको भारतीय सेनाले प्रधानसेनापति थापासँग लामो कुराकानी गरेका थिए।’
रक्षा कुटनीतिमा नेपाली सेना सक्रिय भएको यो एउटा उदाहरण होइन। विश्वमा शक्तिशाली हुँदै उदाएको चीनले पनि प्रधानसेनापति थापालाई उच्च महत्व दिएर समकक्षीका रुपमा भेटवार्ता स्वीकार गरेको थियो। सैन्य प्रमुख समेत रहने गरेका त्यहाँका रक्षामन्त्री जनरल वे फङ्खको नेपाल भ्रमण भयो। सोही क्रममा प्रधानसेनापति थापासँग उनको समकक्षीका रुपमा भेट भएको थियो।
‘नेपाली सेनालाई चीनले पनि यति महत्व दिनुका पछाडि आन्तरिक शक्ति संचय र सहयोगका विषयमा पनि व्यापकता देखाउने प्रयत्न हो’, रक्षा मामिला जानकार एक उच्च स्रोतले भन्यो,‘यसलाई सामान्य राजनीतिक कुटनीति भन्दा माथि राखेर हेर्नुपर्छ।’
सो क्रममा नेपाली सेनासँग भारत र अमेरिकाकै स्तरको वा त्यो भन्दा अझ निकट सम्बन्ध गाँस्ने बेइजिङको चाहना बिम्बित भएको कतिपयले मानेका थिए।
नेपाली सेना स्थायी शक्तिको स्रोतका रूपमा रहेको र अहिले विश्व राजनीतिमा देखा परिरहेको भूराजनीतिक उथलपथलमा नेपालमा सेनासँगको सम्बन्ध विश्वासिलो बनाउनु क्षेत्रीय र विश्वशक्ति राष्ट्रहरूका लागि महत्वपूर्ण बन्दै गएको विश्लेषकहरू बताउँछन्।
अमेरिका र भारतसहितका साझेदार एकातर्फ अनि चीन अर्कोतर्फ उभिएको नयाँ शीतयुद्ध जस्तै परिस्थिति विकास भइरहेको भन्दै त्यसका प्रभावहरू नेपालमा पनि पर्न सक्ने बताइएको थियो।
रक्षामन्त्री जनरल फाङ्खको भ्रमणका क्रममा उनले नेपाली सेनाका प्रधानसेनापतिसँग क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि छलफल गरेको चिनियाँ पक्षले जनाएको छ।
चिनियाँ रक्षा मन्त्रालयका अनुसार वेले चिनियाँ पक्षले निरन्तर सम्पर्कमा रहेर नेपालको सैन्य क्षमता अभिवृद्धिका लागि सहयोग र समर्थन गर्ने बताएका थिए। त्यसबाट दुवै देशका जनताले लाभ पाउने र क्षेत्रीय शान्ति र स्थिरतालाई पनि मद्दत गर्ने वेले उल्लेख गरेको चिनियाँ रक्षामन्त्रालयको वेबसाइटमा उल्लेखित विज्ञप्तिमा जनाइएको छ।
यस्तो प्रकारको इच्छालाई भोली नेपालमा सेनाले लिने कुनै पनि प्रकारको निर्णयमा उनीहरुको साझेदारी हुनसक्ने पनि अनुमान गरिन्छ। राष्ट्रपति सी जिन फिनको नेतृत्वमा रहने चिनियाँ मिलिटरी कमिसनका सबैभन्दा बरिष्ठ सदस्य हुन् वे। तीन वर्ष अघि पनि रक्षामन्त्रीको तहमा नेपाल भ्रमण भएको थियो।
यसपालि नेपाली अधिकारीहरूसँगको भेटमा पनि चिनियाँ रक्षामन्त्रीले नेपाली सेनाका लागि थप सहायता उपलब्ध गराउने जनाएका थिए।
अधिकारीहरूले जनरल वेको भ्रमणलाई नियमित किसिमको भ्रमणका रूपमा प्रस्तुत गरिरहेका थिए। तर त्यतिमा मात्रै सीमित राखेर व्याख्या गर्न नहुने बताइन्छ।
नेपाली सेनाले यी भ्रमणलाई निक्कै महत्वका साथ हेरेको थियो। यहि क्रममा सेनाको प्रस्तावमा नै आगामी केही सातामा भारतीय रक्षाध्यक्ष विपिन रावतको नेपाल भ्रमणको स्वीकृति भएको छ। सेनाको प्रस्तावका आधारमा रावतको भ्रमणलाई सरकारले स्वीकृति दिइसकेको छ। भ्रमणको मिति तय नभए पनि रावत नेपाल आउने पक्का छन्।
उनले पनि समकक्षीका हिसाबमा प्रधानसेनापति थापासँग भेटवार्ता गर्नेछन्। ‘सेनाले प्रस्ताव गर्नु र सोही हिसाबमा कुटनीतिक वार्तामा सरिक हुने कुरालाई अर्थपूर्ण हेर्नुपर्छ’, एक उच्च अधिकारीले भने,‘यसको राजनीतिक अर्थ नलागे पनि व्यवस्था र परिस्थितिलाई नजरअन्दाज गरेर व्याख्या गर्न मिल्दैन।’

