

त्रिभुवन विमानस्थलबाहेक चार विमानस्थलबाट आकस्मिक उडानको अनुमति

काठमाडौं – काठमाडौंबाहेक चार विमानस्थलबाट आकस्मिक उडानको अनुमति लिन सक्ने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकार प्रत्यायोजन गर्दै आपतकालिन अवस्थामा त्रिभुवन विमानस्थलबाहेक मोफसलका चार वटा विमानस्थलबाट समेत आकस्मिक उडानको अनुमति दिने निर्णय गरेको हो ।
प्राधिकरण स्रोतका अनुसार त्रिभुवन विमानस्थल कार्यालय, नेपालगन्ज नागरिक उड्डयन कार्यालय, पोखरा नागरिक उड्डयन कार्यालय, सुर्खेत नागरिक उड्डयन कार्यालय र लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट आकस्मिक उडानको अनुमति लिन सकिने भएको छ । यसअघि काठमाडौंबाट मात्र आकस्मिक उडानका लागि अनुमति दिने व्यवस्था रहेको थियो ।
तर, यसबीचमा मेडिकल, पर्वतारोहणमा गएका पर्वतारोहीको उद्धारका लागि हुने उडान भने गर्न सकिने छ । कार्गो र चार्टर्ड उडान समेत गर्न सकिन्छ । प्राधिकरणले सम्बन्धित कार्यालयलाई अधिकार प्रत्यायोजन गरि जारी भएका उडान अनुमतिको विवरण प्रधान कार्यालयमा पठाउन समेत कार्यालयहरुसँग अनुरोध गरेको छ ।
सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै मंगलबारबाट लागु हुने गरी आन्तरिक सेड्यूल उडान बन्द गरेको छ । बिहीबारबाट अन्तराष्ट्रिय सेड्यूल उडान बन्द हुनेछन् ।

