

भारतका रक्षाध्यक्ष रावतलाई काठमाडौं बोलाउनुको अर्थ

काठमाडौं– नेपाली सेनाको प्रस्तावका आधारमा मन्त्रिपरिषदले हालै भारतका रक्षाध्यक्ष पूर्वप्रधानसेनापति विपिन रावतलाई काठमाडौं बोलाउने निर्णयलाई अर्थपूर्ण रुपमा व्याख्या गरिएको छ।
कोरोना महामारीपछि रावतको नेपाल भ्रमण हुने बताइए पनि यहि बीचमा उनी पत्नीसहित आउन सक्ने बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति निकट रावत प्लेन चार्टर गरेर वा सातामा दुई पटक हुने हवाई सेवामा आउन सक्ने अनुमान पनि गरिएको छ।
नेपालमा राजनीतिक गतिरोध चलिरहेका बेला उनको भ्रमणले अर्थ राख्ने कुटनीतिक क्षेत्रका विज्ञले बताएका छन्। ‘मन्त्रिपरिषदबाट नै निर्णय भएपछि उनी रक्षा सहकार्यका निम्ति केही एजेन्डा लिएर आउनेछन्। तर उनको यो भ्रमणलाई हाल राजनीतिक वृत्तमा देखिएको समीकरणलाई प्रभाव पार्न सक्ने पनि हुनेछ’, उच्च स्रोतले भन्यो।
भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवाणेको औपचारिक भ्रमण, लगत्तै प्रधानमन्त्री मोदीको दूतका रुपमा आएका भारतीय गुप्तचरी निकाय रिसर्च एन्ड एनालाइसीस विङ्स (रअ)का प्रमुख सामन्त गोयलको भ्रमणपछि नेपालको आन्तरिक राजनीतिमा ठूलो परिवर्तन आएको थियो।
मोदीका खास मध्यका रावतको भ्रमणले पनि आगामी राजनीतिक परिवेशलाई परोक्ष प्रभावमा पार्ने र त्यसको प्रत्यक्ष असर केही दिनमा नै प्रमुख पार्टीमा देखिने बताइएको छ।
रावतको भ्रमण स्वीकृत भएको एक सातामा नै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन लागेका छन्। ९ वैशाखको मन्त्रिपरिषदले रावतको भ्रमणलाई स्वीकृत गरेको थियो।

