

मौज्दात पेट्रोलियम पदार्थ, सरकारी कम्पनीका बिक्री काउन्टर खुला

काठमाडौं – मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको नियमित एवं सहज रुपमा आपूर्ति भइरहेको छ । निगमले सञ्चालनमा ल्याएको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइबाट नियमित रुपमा डिजेल आयात भइरहेको छ ।
निगमसँग हाल ४८ हजार २४५ किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात छ । यसैगरी निगमले यस महिना खाना पकाउने एलपी ग्यास आयातका लागि ४६ हजार ३३२ मेट्रिक टन वितरण गरिएको जनाएको छ । जोगबनी, वीरगञ्ज, बेलहिया र जमुनाहा नाकाबाट आइतबार मात्र २८१ इन्धनलगायत मालवाहक ट्रक नेपाल भित्रिएको जनाइएको छ ।
सरकारी कम्पनीका बिक्री काउन्टर खुला
वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागु भएको निषेधाज्ञाका समयमा खाद्य र साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीले नियमित रुपमा बिक्री काउन्टर खुला राखेका छन् । खाद्य कम्पनीले चार स्थानका बिक्री काउन्टर बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालन गरिएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए।
‘निषेधाज्ञाका समयमा काठमाडौँ उपत्यकावासी उपभोक्ताहरुलाई पर्न जाने असुविधालाई ध्यानमा राखी हामीले आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्न खाद्यलगायतका सामग्रीहरु बिक्री कक्षमा राखेका छौँ’, उनले भए, ‘उपभोक्ताले आफ्नो अनुकूलको समयमा नजीकका काउन्टरबाट लैजान सक्नुहुनेछ ।’
कम्पनीले बिक्री कक्ष रामशाहपथ (बग्गीखाना), थापाथली, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सूर्यविनायकका बिक्री काउन्टर खुला गर्ने जनाएको छ जसमा थापाथली बिक्री कक्ष दिनमा तीन पटक, नख्खु बिक्री कक्ष दुई पटक तथा रामशाहपथ र सूर्यविनायकमा बिहान एक पटक खुला हुनेछ ।
थापाथली बिक्री काउन्टर बिहान ७ देखि १० बजेसम्म, कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म गरी १२ घण्टा गरी तीन पटक सञ्चालन हुने सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।
उनका अनुसार नख्खु काउन्टर बिहान ७ देखि कार्यालय समय साँझ ५ बजेसम्म तथा रामशाहपथ र सूर्यविनायक बिहान ७ देखि ११ बजेसम्म खुला हुनेछ । यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले ललितपुर, कालीमाटी, सतुङ्गल, कोटेश्वर, भक्तपुर र बनेपास्थित बिक्री केन्द्रका साथमा घुम्ती सेवा पसल (मोबाइल भ्यान) मार्फत खाद्यान्न बिक्रीवितरण गर्दै आएको छ ।

