

सीमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरी कोरोनाकाे उच्च जोखिममा, नेपाल फर्केका ६० प्रतिशत बढी नेपालीहरु संक्रमित

काठमाडौं – नेपालको अन्तराष्ट्रिय सीमाको सुरक्षा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कोभिड १९ संक्रमणको जोखिममा परेका छन् ।
भारतमा कोभिड १९ संक्रमणको दोश्रो लहर बढेसँगै कामको सिलसिलामा भारत गएका नेपालीहरु स्वदेश फर्कन थालेका छन् । भारतबाट नेपाल फर्केका ६० प्रतिशत बढी नेपालीहरु संक्रमित पाइएको छ ।
यस्तो अवस्थामा प्रवासी नेपालीको सीधा सम्पर्कमा आउने सशस्त्र प्रहरी बलसँगै त्यहाँ खटिने नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरु पनि संक्रमित भइरहेका छन् । त्यसमध्ये सीमा सुरक्षार्थ परिचालन भएका सशस्त्र प्रहरी जवानहरू संक्रमणको बढी जोखिममा रहेका छन् ।
सशस्त्र प्रहरी बलका प्रवक्ता नायब महानिरीक्षक राजु अर्यालका अनुसार संगठनभित्र आन्तरिक व्यवस्थापन गरेर सकेसम्म जोखिम कम गर्ने र संक्रमण हुन नदिने उपाय अवलम्बन गरिएको छ । सशस्त्र प्रहरी बलले कोभिड १९ को पहिलो लहरमा लिएको शिक्षा र अनुभवको आधारमा तयारी गरेर काम गरिरहेको नायब महानिरीक्षक अर्यालले बताए ।
सशस्त्र प्रहरी बलका १ हजारभन्दा बढी सुरक्षाकर्मी अहिले कोभिड १९ बाट संक्रमित भइसकेका छन् । अहिले आइसोलेसनमा ५ जना सुरक्षाकर्मीले उपचार गराइरहेका छन् । कोभिड १९ को दोश्रो लहरमा ६६ जना सुरक्षाकर्मी संक्रमित भएको नायब महानिरीक्षक अर्यालले जानकारी दिए ।

