

कोरोना न्यूनीकरण र रोकथाम गर्न सरकार सक्रिय, थप खोप ल्याउन पहल जारी : अर्थमन्त्री पौडेल

काठमाडौं – कोभिड १९ को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकार सक्रिय भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । जनताको जीवन रक्षा सरकारको प्राथमिकता रहेको भन्दै मन्त्री पौडेलले कोभिड-१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गरेका छन् ।
कोभिड-१९ का बिरामीको परीक्षण र उपचार सरकारको प्राथमिकतामा रहेको उनले बताए । अर्थमन्त्री पौडेलले भने ‘विषम परिस्थितिमा अघिल्लो पटक कोभिड-१९ का बेलाका सिकाइहरुलाई समेत आधार मान्दै अघि बढेका छौँ,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक वर्ष २०७८/७९ बजेट सम्बन्धी दिएको सुझावपछि अर्थमन्त्री पौडेलले भने, ‘सबैको साथ र सहयोगले कोभिड-१९ विरुद्धको लडाईं जित्नुको विकल्प हामीसँग छैन ।
उनले वातावरण सहज पार्न र पूर्वाधारहरु बढाउन प्रदेश सरकार र स्थानीय तहसँग पनि थप समन्वय भइरहेको जानकारी दिँदै जनशक्ति परिचालनमा पनि ध्यान दिएको बताए । जनताको स्वास्थ्यलाई ध्यान दिएर नै यस अघि छिमेकी मुलुक भारत र चीनबाट कोभिड १९ विरुद्धको खोप ल्याइ नागरिकहरुलाई लगाइएको भन्दै अर्थमन्त्री पौडेलले थप खोप ल्याउनका लागि पनि पहल जारी रहेको जानकारी दिए ।
सेजनले व्यक्तिगत आयकर, मूल्य अभिवृद्धि कर, भन्सार, सार्वजनिक संस्थानहरू, उद्योग, कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार, बैंक तथा सहकारी, लगानी, श्रम तथा रोजगार, प्रदेश, स्थानीय तह, बिमा, आर्थिक सुशासन, आर्थिक स्रोतको व्यवस्थापन गर्न सुझाव दिएको छ ।

