

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुको आजै शपथको तयारी

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री डारमणी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्री पौडेलले ३ मन्त्री र ७ जना राज्यमन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
विस्तारित मन्त्रिपरिषद्मा आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी काभ्रेका चन्द्र लामालाई दिएको बुझिएको छ । त्यस्तै मकवानपुरकी जुनेलीमाया श्रेष्ठ पनि राज्यमन्त्री बनेको स्रोतले बताएको छ । स्रोतका अनुसार सिन्धुपाल्चोकका सांसद् सरेश नेपाल, नेकपा एमाले बागमती प्रदेशमा प्रमुख सचेतक नुवाकोटका केशवराज पाण्डे र दोलखाकी सरस्वती बस्नेत पनि मन्त्रिपरिषद्मा समेटिएका छन् । धादिङका डा. रामकुमार अधिकारी र सिन्धुलीका प्रदिप कटुवाल पनि मन्त्रिपरिषद्मा समेटिएको बताइएको छ ।
मुख्यमन्त्री पौडेलले पछिल्लो राजनीतिक घटनाक्रमका कारण पार्टी भित्र तीब्र विरोधकाबीच मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओली पक्षको नेकपा एमालेका सांसदहरु मात्र रहेका छन् । नेकपा एमालेका खनाल नेपाल समुह भने सहभागी भएका छैनन् ।
गत पुस ५ गते मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकै दिन आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुणकुमार नेपाल र समाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएसँगै तीन वटै मन्त्रालयको कार्यभार मुख्यमन्त्री पौडेलले नै सम्हाल्दै आएका थिए ।
नियुक्त भएका मन्त्री तथा राज्यमन्त्रीहरूले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

