

रुँदै बालुवाटारबाट निस्किएकी चौधरीको ओली समूह छाड्ने चेतावनी, कारण यस्तो छ

काठमाडौं– एमालेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बीचमै छाडेर रुँदै बालुवाटारबाट निस्किएकी नेत्री भगवती चौधरीले ओली समूह छाड्ने चेतावनी दिएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा खुलेकी उनले आफूलाई मौका नदिएको भन्दै चेतावनी दिएकी हुन्।
१० वैशाखमा भएको बैठकले एमाले नेता माधवकुमार नेपाल पक्षको जिम्मेवारी खोसी कार्यविभाजन गरेको थियो। सो क्रममा सुनसरी जिल्लाको इञ्चार्जमा चौधरीको नाम प्रस्तावित थियो। तर, ओली समूहमा लागेका प्रदेश १ का मन्त्री तथा एमालेका नेता जगदिश कुसियतले सुनसरी इञ्चार्ज पाएपछि चौधरीले यस्तो चेतावनी दिएकी थिइन्।
‘मलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिने सहमति थियो तर धोका भयो, त्यसैले म ओली समूहमा बस्न सक्तिन’, उनले निकटस्थहरूलाई भन्ने गरेकी छन्,‘मैले इञ्चार्ज नपाउनुपर्ने कारण के रहेछ भन्नुपर्दैन?’
एमालेका लागि दुई नेता ओजिला हुन्। चौधरी सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारलाई चुनावमा कडा चुनौति दिने नेत्री हुन् भने कुसियत पहिला गिरीजाप्रसाद कोइराला, उपेन्द्र यादव र अहिले सुजाता कोइरालालाई चुनावी मैदानमा सुनसरी–५ बाट चुनौति दिने नेता हुन्।
कुसियत प्रदेश सभामा तथा प्रदेश सरकारमा समेत रहेका कारणले आफूले पार्टीमा जिम्मेवारी खोजेको चौधरीको भनाई छ। तर पार्टीले इञ्चार्ज दिनुको साटो उनलाई सह–इञ्चार्जमा राखेको छ।

