सुदूरपश्चिमका पहाडी जिल्लामा अक्सिजन अभाव, निर्णय कार्यान्वयन गर्न सरकारलाई सकस


काठमाडौं – दोस्रो लहरको कोरोना संक्रमण बढ्दै जाँदा सुदूरपश्चिमका ६ वटा पहाडी जिल्लामा अक्सिजन अभाव कायमै रहेको छ ।

सुदूरपश्चिम प्रदश सरकारले गत बर्ष नै अक्सिजनको व्यवस्था नभएका प्रदेशका पहाडी जिल्ला (बैतडी, दार्चुला, डोटी, अछाम, बझाङ र बाजुरा) स्थित जिल्ला अस्पतालमा अक्सिजनको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

पहिलो चरणको कोरोना संक्रमण दर कम हुँदै जाँदा प्रदेश सरकारले आफ्नै निर्णय कार्यान्वयन गर्न सकेन ।

अहिले दोस्रो चरणको संक्रमण दर उच्च भइरहेका बेला ती ६ वटा पहाडी जिल्लामा बिरामीलाई सकस भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

हाल कैलालीको सेती प्रादेशिक अस्पताल, टिकापुर अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा मात्रै अक्सिजनको व्यवस्था छ ।

‘सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिमका सबै जिल्लामा अक्सिजनको व्यवस्था गर्ने निर्णय गरेको थियो,’ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले भने, ‘तर हालसम्म निर्णय कार्यान्वयन भएको छैन, पहाडी जिल्लामा अक्सिजन आवश्यक पर्ने बिरामीलाई डडेल्धुरा वा कैलाली लैजानुपर्ने बाध्यता छ ।’

कोराना संक्रमितलाई सवैभन्दा बढी आवश्यकता अक्सिजनको पर्ने गरेको बताउँदै डाक्टर अवस्थीले तत्कालै सबै पहाडी जिल्लामा अक्सिजनको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

‘हालसम्म पहाडी जिल्लामा आइसियुको व्यवस्था समेत छैन,’ स्वास्थ्य निर्देशक अवस्थीले भने, ‘सामान्य स्वास्थ्य उपचार गर्न समेत अक्सिजन आश्वयक पर्ने गर्दछ, त्यो पनि नहुँदा स्वास्थ्यकर्मीले कसरी काम गर्ने ?’

यता सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले छिट्टै सबै जिल्लाहरुमा अक्सिजनको व्यवस्था गरिने बताए ।

प्रतिक्रिया